(गाऊघर समाचार)धनगढी — कोरोना भाइरसको सम्भावित संक्रमणको त्रासमा सरकारी कार्यालयसमेत बन्द हुने अवस्था आइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारले भने आठ महिनादेखि थन्क्याएको बजेट बिहीबार राति बाँडेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मत्रालयले पूर्वाधार विकासतर्फ विभिन्न योजनामा झण्डै डेढ अर्ब रुपैयाँ बाँडेको हो ।

चालु आर्थिक वर्षको बजेटमा अर्थ विविध शीर्षकमा एकमुष्ट राखिएको उक्त रकम बाँडफाँट नगर्न प्रतिपक्षी र सत्तारुढ सांसदको साउनदेखिको दबाब सम्बन्धित मन्त्रालयले बेवास्ता गर्दै आएको थियो । अन्तिम चौमासिकमा आएर वितरण गरिएको रकम र विनियोजन गरिएका योजनाबारे कुनै जानकारी नभएको सत्तारुढ र प्रतिपक्षी दलका सांसदले बताएका छन् । सबैको ध्यान कोरोना भाइरसको संक्रमणतर्फ गइरहेको बेला सोही मौकाको फाइदा उठाउँदै मन्त्रालयले रकम बाँडेको प्रमुख प्रतिपक्षी दल कांग्रेसको आरोप छ । कांग्रेस सांसद कर्ण मल्लले रकम बाँडपाँट अपारदर्शी भएको दाबी गरे । सत्तारुढ दल नेकपाका सांसद महेशदत्त जोशीले आफ्नो क्षेत्रमा योजना परेको भए फिर्ता पठाउने चेतावनी दिए । ‘बजेट बाँडफाँट गरिएको आधिकारिक जानकारी छैन,’ जोशीले भने, ‘म त मेरो निर्वाचन क्षेत्रमा कुनै योजना दिइएको भए कार्यान्वयन नै गर्न नदिएर फर्काउँछु ।’
