पवित्रा राेकामगर;
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गरेको छ । डडेल्धुराको पारिगाउँ मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बहाव बढ्दो क्रममा रहेको बाढी सूचना केन्द्रले जनाएको छ ।
डडेल्धुरा र कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ । महाकालीमा पानीको सतह अहिले सात मिटरसम्म पुगेको छ । पारिगाउँ मापन केन्द्रमा पाँच दशमलव ८० मिटर पानी पुग्दा सतर्कता तह पार गरेको मानिन्छ ।
आज महाकाली, नारायणी र मर्स्याङ्दी नदीको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै ठाउँमा अस्ति मङ्गलवारदेखि झरी परिरहेको छ । भोलि शुक्रवार पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
उनका अनुसार आज कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । मधेस प्रदेशमा राति र अन्य प्रदेशका एकरदुई ठाउँमा दिउँसो ठूलो पानी पर्ने उहाँले जानकारी दिए । मौसमविद् पौडेलका अनुसार पर्सि शनिवारदेखि भने मौसम खुल्ने सम्भावना छ ।
