विद्यालय सुधार्दै भागेश्वर गाउँपालिका

डीआर पन्त, डडेलधुरा — जिल्लाकै दुर्गम भागेश्वर गाउँपालिकाको लेकुडास्थित भागेश्वर आधारभूत विद्यालयमा गत साता नौला मान्छे आए । कक्षाकोठामा पसेर पढाउन थाले । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारती कक्षा ७ र गाउँपालिका अध्यक्ष हेमराज चटौतले ३ मा कक्षा लिन थाले ।

गणित शिक्षकबाट निजामती सेवा प्रवेश गरेका योजना अधिकृत प्रेम घोटा कक्षा ८ मा सोही विषय पढाउँदै थिए । पालिकाका शिक्षा शाखा प्रमुख गणेशबहादुर पौडेल शिक्षकहरूलाई कार्यालयमा जम्मा गरेर छलफल गरिरहेका थिए ।

विद्यालय अनुगमनका क्रममा यस्तो गतिविधि ३ घण्टासम्म चल्यो । गाउँपालिका अध्यक्ष, प्रशासकीय अधिकृत र योजना अधिकृतले आलोपालो तीन कक्षा लिएर विद्यार्थीको सिकाइ क्षमताबारे जानकारी लिए । शिक्षकले पढाएका विषयबारे पनि उनीहरूले विद्यार्थीसँग कुराकानी गरे । पौडेलले शिक्षक–विद्यार्थीको हाजिरी, पाठयोजना र पालिकाको शैक्षिक सुधार योजना अनुरूपका गतिविधि निरीक्षण गरे ।

               विहानकाे प्राथनामा सरस्वती माविका विद्यार्थी

गाउँपालिकाले ६ महिनाअघि ‘शैक्षिक सुधार वर्ष’ घोषणा गर्दै सामुदायिक विद्यालय सुधार अभियान चलाएको छ । यसै सिलसिलामा उनीहरू सातामा एक दिन कक्षामा शिक्षणसहित अनुगमनमा संलग्न हुँदै आएका छन् । भागेश्वरका सबै वडाध्यक्ष विद्यालय खुल्ने बेला र छुट्टी हुनुअघि दैनिक दुई घण्टा आफ्नो वडाको माध्यमिक विद्यालयमा पुगेर शैक्षिक गतिविधि, विद्यार्थीको उपस्थिति, अतिरिक्त क्रियाकलापबारे छात्रछात्रा र शिक्षकसँग छलफल गर्छन् ।

हरेक तेस्रो दिन पालिकाका शिक्षा शाखा प्रमुख पौडेल विद्यालय पुग्छन् । शिक्षक–विद्यार्थीसँग छलफल गर्छन् । अधिकृत भारती र अध्यक्ष चटौत १५/१५ दिनमा विद्यालय पुगेर निरीक्षणसँगै कक्षा लिन्छन् । उनीहरू साता दिनअघि र पछिको तुलनात्मक सुधार, बालबालिकाको सिकाइ अवस्था र सुधार गर्नुपर्ने पक्षबारे छलफल गर्छन् । ६ महिनाअघि सुरु गरिएको योजनाले शैक्षिक स्तर सुधार भइरहेको गाउँपालिकाले जनाएको छ । अभियान सुरुआतपछि हरेक महिना विद्यालयले अभिभावक भेला थालेको छ । अभिभावक र विद्यार्थीसँगै राखेर पनि विद्यालयमा छलफल हुने गरेको छ ।

पालिकामा प्रदेश र संघीय कार्यालयका कार्यक्रममा आएका अनुगमनकर्ता पनि आफू पुगेको गाउँको विद्यालयमा अनिवार्य पुग्छन् । फर्कंदा विद्यालयको स्थिति, सिकाइ अवस्था, भौतिक पूर्वाधारदेखि जानकारी पाएका विषयमा पालिकालाई रिपोर्ट दिएर जाने प्रमुख प्रशासकीय अधिकृत भारतीले बताए । नियमित अनुगमनले विद्यालयमा राम्रो प्रभाव परेको प्रधानाध्यापक बताउँछन् ।

विद्यालयका कार्यालय सहकारीका लागि तालिम सहभागीहरु

सरस्वती माविका प्रधानाध्यापक केशव पन्तले भने ‘इच्छा शक्ति भयो भने सामान्य प्रयासले पनि धेरै काम हुन सक्छ भन्ने पालिकाले सुरु गरेको विद्यालय सुधार वर्ष कार्यक्रमले देखाएको छ ।’ विद्यालयका विषयमा चारैतिरबाट चासो राख्न थालेपछि व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावक सबै आफ्नो दायित्वप्रति सतर्क हुन थालेको अर्का शिक्षक भीम ठकुराठी बताउँछन् । ‘छात्रछात्रा पनि सिधै जनप्रतिनिधि र पालिकाका कर्मचारीसँग जोडिएका छन् भने अभिभावकले विद्यालयसँग गर्ने गुनासा पनि निकै कम भएका छन्,’ उनी भन्छन् ।

भागेश्वर गाउँपालिकामा ३२ सामुदायिक विद्यालय छन् । पालिकाका शिक्षा शाखा प्रमुख पौडेल ६ महिनायता गरिएका प्रयासले शिक्षा क्षेत्रमा आधा समस्या समाधान भएको बताउँछन् ।

विद्यालय अनुगमनकाे क्रममा गाउँपालिका टीम

‘भौतिक पूर्वाधारको कमी छैन, शिक्षक छन, व्यवस्थापन पक्ष पनि ठीक छ तैपनि विद्यार्थीको सिकाइ र शिक्षकको अध्यापन क्षमतामा उठ्ने गरेको प्रश्नको उत्तर खोज्ने काम भइरहेको छ,’ उनले भने, ‘थोरै तलबमा निजी विद्यालयमा पढाउने शिक्षकले पढाएका विद्यार्थीले राम्रो नतिजा ल्याउने तर राम्रो सरकारी सेवासुविधा लिएर पढाउने सामुदायिकका विद्यार्थी कमजोर किन ? बिस्तारै शिक्षक, अभिभावक र विद्यार्थीले यो कुरा बुझ्न थालेका छन् ।’ विद्यालय सुधार कार्यक्रम उपलब्धिमूलक भएको उनले बताए ।

गाउँपालिका अध्यक्ष चटौत विद्यालय सुधार वर्ष घोषणा गरेर स्तरीय शिक्षा गाउँमै सम्भव रहेको सन्देश दिने प्रयास भइरहेको बताउँछन् । ‘कमजोरी हटाउने उद्देश्यले सुधार वर्ष घोषणा गरेका हौं,’ उनले भने । अभियान थालिएयता शिक्षकको अनुपस्थिति दर घटेको छ । अभिभावक पनि हरेक महिनाजसो विद्यालयमा सम्पर्क राख्न पुग्न थालेका छन् । सा : कान्तिपुर

bb

Leave A Reply

Your email address will not be published.