बरुण पनेरु
डडेल्धुरा, असार २९,
परशुराम नगरपालिकाले सरकारी तथा सामुदायिक विद्यालयहरुमा कुनै प्रकारका राजनितिक गतिबिधि पुर्ण रुपमा बन्देज लगाउने भएको छ । आर्थिक बर्ष २०८०÷२०८१को बार्षिक कार्यक्रम तथा बजेटमा सामुदायिक विद्यालयहरुमा राजनितिक गतिबिधि, बन्द, हड्ताल तथा शैक्षिक गतिबिधिमा अवरोध गर्ने खालका क्रियाकलापहरु पुर्ण रुपमा बन्देज लगाउने निर्णय गरिएको परशुराम नगरपालिका नगर प्रमुख भरत बडायर जोशीले बताउनु भयो । राजनीतिक दलका भातृसंस्था गठन कार्यलाई पनि निषेध गरिएको छ । नगर प्रमुख जोशीले भने, सार्वजनिक शिक्षालाई राजनितिक प्रभावमुक्त, स्वच्छ, नियमित, गुणस्तरीय बनाउँदै बिद्यालयलाई शान्ति क्षेत्रको अवधारणालाई मुर्तरुप दिने छ ।
साथै शिक्षक तथा विद्यालय कर्मचारीहरुले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाइने नीति कडाइका साथ अवलम्बन गरिने नगर प्रमुख जोशीले बताउनु भयो । विद्यालयका गतिबिधिहरु राजनितिक दलहरुका लागि प्रभावित भएको भन्दै यस्ता निर्णय लिनु परेको उनले बताए । नगरसभाबाट भएका निर्णयहरु कार्यान्वयन गर्न सबै पक्षसँग छलफल समेत भईसकेको नगरपालिकाले जनाएको छ ।
परशुराम नगरपालिकाको १३ औं नगर सभाबाट नीति तथा कार्यक्रम, र बजेट सर्वसम्मत रुपमा पारित गरेका भएको परशुराम नगरपालिकाले जनाएको छ ।
