डडेल्धुरा: हिमपातका कारण भीमदत्त राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन्। बिहीबार रातिदेखि परेको हिमपातले सुदूरपश्चिम प्रदेशको मुख्य राजमार्गको रूपमा रहेको भीमदत्त राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका हुन्।
३६ घण्टासम्म अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन। डडेल्धुराको अनारखोली, साहुखर्क, हगुल्टेलगायतका स्थानमा भएको हिमपातले बिहीबार राति करिब १० बजेदेखि सवारीसाधनहरु अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ। राति १० बजेदेखि हिमपातले बस चल्न नसकेपछि रातभरी बसभित्रै बसेको दार्चुलादेखि महेन्द्रनगर जान लागेको यात्रु खडकसिंह भाटले बताए। उनले भने, ‘राति ९ बजे यहाँ पुगेको अहिलेसम्म यहीँ छौँ, रातभर चिसो भयो अहिले पनि बाटो खुल्न सकेको छौं।’ डडेल्धुराको अनराखोली बजार र बैतडीको खोडपेबजार क्षेत्रमा तीन फिटसम्म जमेको हिउँ जिल्ला प्रशासन कार्यालय डडेल्धुराको पहलमा तीन वटा डोजर लगाएर बाटो खुलाइएको थियो।
भीमदत्त राजमार्गमा पनि चारवटा डोजर हिउँ पन्छाउन प्रयोग गरिएको र बाटो खुलाउन अझैँ समय लाग्ने प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जनाकारी दिए। उनले भने ‘अमरगढी नरपालिका, अन्य स्थानीय निकाय र सुरक्षाकर्मीहरुको पहलमा चाँडोभन्दा चाँडो बाटो सफा गरी यातायातका साधनहरु सञ्चालन गर्छौं।’ राति ११ बजेसम्म काम गरेको र बिहान ४ बजेबाट नै डोजरले सफा गररे एकतर्फी बाटो खुलाउन प्रयास भइरहेका भए पनि गाडीहरु नालीमा खसेर समस्या भइरहेको उनले बताए।
दशरथ चन्द राजमार्गअन्र्तगत अनारखोली क्षेत्रमा बाटो सञ्चालन गर्न अमरगढी नगरपालिकाले डोजर परिचालन गरेको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए। अनारखोली बजार क्षेत्रमा बाटो सञ्चालन भए पनि हगुल्डेलेकमा अहिले पनि बाटो अवरुद्ध छ। अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। सडक सञ्चालनका लागि स्थानीय तहका डोजर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा प्रमुख जिल्ला अधिकारी पौडेल आफैं खटिएका छन्।
हिमपातले डडेल्धुरामा नेपाल टेलिकमको फोन, इन्टरनेट सेवा र विद्युत सेवा समेत अवरुद्ध छ। जिल्ला सदरमुकामका विद्यालयमा सञ्चालित परीक्षा प्रभावित भएको छ।
(S. Unity Khabar)
