(डडेलधुरा) — सुविधा सम्पन्न भवन छन् । केही भवन निर्माणाधीन छन् । उपचारमा प्रयोग हुने महँगा महँगा उपकरण छन् । अस्पतालभित्रै फार्मेसी र अत्याधुनिक ल्याब छ । छेवैमा ब्लड बैंक पनि छ । तर अस्पतालमा बिरामी आउँदैनन् । बिहान १० बजेदेखि साँझसम्म दर्ता कक्षमा बस्ने हो भने ५० जना बिरामी पनि मुस्किलले पुग्छन् ।
देशका पाँच सुविधा सम्पन्न अस्पतालमध्ये डडेलधुराको अवस्था हो यो । साधन स्रोत र बजेट सबै हुँदाहुँदै पनि उपचार सेवा दिन चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा यस्तो भएको हो । उपचारमा खटिने जनशक्ति नभएकाले यहाँ आउने अधिकांश बढी बिरामीलाई उपचारका लागि अन्यत्रै जान रिफर मात्र गरिन्छ । कागजमा भने डडेलधुरा अस्पतालमा ३९ जना चिकित्सकसहित १ सय ९ जना स्वास्थ्यकर्मीको ठूलो जनशक्ति छ । अस्पताल स्थापना भएयता तीनजना चिकित्सकबाहेक अरूले अनुहारै देखाएनन् ।
स्थापनाको सात वर्षमा अस्पतालको दुईपटक स्तरोन्नति भयो । त्यसअघि तत्कालीन टिम अस्पताल र जिल्ला अस्पताल गाभेर सुदूरपश्चिमको डडेलधुरा अस्पताल पहिलो उपक्षेत्रीय स्वास्थ्य संस्था बनेको थियो । दुई वर्षअघि संघीय सरकारले देशका पाँचवटा सुविधा सम्पन्न अस्पतालका रूपमा स्तरोन्नति गर्ने भन्दै उपक्षेत्रीयलाई डडेलधुरा अस्पतालमा परिणत गर्यो । तर दुवैपटक घोषणा मात्रै भयो, अस्पतालको स्तरोन्नति कागजमा मात्रै भयो, व्यवहारमा भने टिम अस्पताल हुँदा पाउने उपचार सेवासमेत बन्द भए ।
प्रसूति, बालरोग र दीर्घरोगका लागि राम्रो उपचार सेवा भएको तत्कालीन टिम अस्पतालले दिइरहेका कुनै पनि सेवा अहिले अस्पतालमा छैन । सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लाका बिरामीले सेवा पाउने एकमात्र अस्पताल उपक्षेत्रीय घोषणा भएको सात वर्षसम्म पनि व्यवस्थित मात्र हुन सकेन, उपचारका लागि आउने चिकित्सक हाजिर नहुँदै सरुवा हुन थाले । दुई वर्षयता त अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टसमेत नियुक्त हुन सकेका छैनन् । अस्पताल नेतृत्वविहीन अवस्थामा छ । पछिल्लो समय सरकारले ११ औं तहका डा. कृष्णप्रसाद खनाललाई लुम्बिनी प्रादेशिक अस्पतालबाट डडेलधुरा अस्पतालको प्रमुखमा नियुक्त गर्यो । तर यहाँ हाजिर नहुँदै उनको अवकाश पत्र आइपुग्यो । उनी डडेलधुरा नै आउनुपरेन ।
‘डाक्टर आइपुग्न नपाउँदै सरुवा र अवकाश भएको यो पहिलोपटक होइन,’ अस्पतालका एक कर्मचारी भन्छन्, ‘नेतृत्वविहीन भएकैले साधनस्रोत सम्पन्न भएर पनि अस्पतालले उपचार सेवा दिन सकेको छैन ।’ जिम्मेवार नेतृत्व नभएकाले स्तरोन्नति र विकासका लागि आएको बजेट पनि दुरुपयोग भइरहेको उनले बताए । ‘सुदूरपश्चिम प्रदेशका सात जिल्लाका बासिन्दाले उपचार पाउने स्वास्थ्य संस्थाप्रति सरकारले खेलबाड गरिरहेको छ,’ अस्पताल विकास समितिका पूर्वअध्यक्ष हेमराज चटौत भन्छन्, ‘सुदूर पहाडका १२ लाखभन्दा बढी जनसंख्याले उपचार पाउने अधिकारबाट वञ्चित हुनुपरेको छ ।’ बाजुराको कोल्टीदेखि दार्चुलाको मार्मासम्मका बिरामीका लागि नजिकको डडेलधुरा अस्पताल नजिक छ । तर, यहाँ चिकित्सक र दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नभएका मात्रै होइनन्, दुई वर्षदेखि सरकारले अस्पताल विकास समितिसमेत गठन गर्न नसकेको उनले बताए ।
पाँच सय शय्याको सुविधा सम्पन्न अस्पताल घोषणा भए पनि अहिलेसम्म दरबन्दीअनुसारका स्वास्थ्यकर्मी कहिल्यै नआएको अस्पतालका सूचना अधिकृत टंक पन्त बताउँछन् । ‘१९ जना कन्सल्टेन्ट चिकित्सक र १८ जना मेडिकल अधिकृतसहित ४४ वटा विभिन्न फाँटमा गरी १ सय ९ जनाको अस्पतालमा दरबन्दी छ,’ उनले भने, ‘जम्मा दुईजना मात्रै मेडिकल अधिकृत छन् । अनि बिरामी रेफर नगरेर के गरोस् अस्पतालले ?’
(S : Kantipur Daily डीआर पन्त)
