डडेल्धुरा रुपालको होली
कैलासकुमार पाण्डेय
परशुराम ३ थपला,डडेल्धुरा
सबै समाजमा आफ्ना मौलिक कला र सस्कृति रहिआएका हुन्छन । सभ्यताको बिकास संगै कला संस्कृति साहित्यको बिकास भएको पाइन्छ । हाम्रो देशमा रहेको सास्कृतिक, भौगोलिक विविधताले परम्परा चाल–चलन संस्कार संस्कृति मा पनि बिबिधता पाईन्छ ।
वर्ग,क्षेत्र ,जातजाति अनुसार सबैका आ–आफ्ना रितिरिवाज परम्परा रहिआएका छन । विविध प्रकृतिको सामाजिक बनौट अनुरुप कला, साहित्य संस्कृति पनि पृथक हुन्छन । छुट्टा–छुट्टै स्थान ,परिवेश ,समाज अनुसार विभिन्न चाडपर्वहरु मनाउने गरिन्छन । वैदिक सनातन धर्मावलम्बीले हरेक दिनलाई पर्वका रुपमा लिने गरेको हुन्छ । त्यसैमा एकादशी अमावश्य, पुर्णिामा बढी पर्व पर्ने गर्छन । महिनाको पहिलो दिन संक्रान्तीलाई पर्वकै रुपमा मनाइन्छ । कैयौ महत्वपुर्ण चाडपर्व मध्ये होली पनि एक हो जुन फाल्गुन शुक्ल पुर्णिामाका दिनमा मुख्य रुपमा मनाइन्छ । जसले नेपाली सस्कृतिलाई झल्काउने गर्दछ । फागु पुर्णिमाको रुपमा पनि लिने गरिएको पाईन्छ । स्थान र सास्कृतिक परिवेशले होली मानाउने प्रक्रिया समय पनि फरक–फरक रहेका छन । कुमाँउ गडवाल तिर बसन्तोत्सवका रूपमा बसन्त पञ्चमी देखि दुई महिना होली मनाइन्छ । अछाम तिर द्वादशी देखि पुर्णिामा सम्म प्रत्येक साझ होलीको खेल खेलेर मनाईन्छ । डोटी डडेल्धुरा तिर होलाष्टमी देखि आठ दिन होलाष्टकका रुपमा मनाईन्छ ।
डोटीको रुपाल, थपला तिर एकादशी देखि पुर्णिामा सम्म पंतिबद्ध भइ लय मिलाएर खेल संगै रंग रंगिलो गरि होली पर्व मनाइन्छ । होली पर्व मनाउनुलाई होली खेल्नु भनिन्छ ।
होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुको फागुनमा महिनामा मनाइन्छ । बसन्त ऋतुमा नयाँ पालुवा पलाउने र नया फूल फुल्ने गर्छन । जसले प्रकृतिमा उमंग थपेको हुन्छ । त्यसै उमंगलाई थप प्रगाड बनाउन रंग लगाएर होली मनाइन्छ । रंग रंगाएर मनाइने भएकाले होली रङ्गहरूको चाँड हो । होली अवधी भर प्रत्येक दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउछन् र होलीका खेल खेल्ने गर्दछन।
होलीको इतिहास
त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलाद संग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई ऊनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी दिनका रुपमा होलीको पर्व पर्दापण भएको मानिन्छ । विष्णुको नरसिंह अवतार को वर्णन अनि उत्पती पनि होली अनि प्रहलाद घटना क्रम सँग सम्वन्धित छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ, भगवान श्रीकृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजको दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको बध भएपछी गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाउने गरिन्छ । व्रज क्षेत्रमा मन्दिर अथवा निश्चित स्थानमा वसेर खडी बोली व्रजभाषामा होली गाइन्छ र खेलिन्छ भने होली खेल्ने गाउने व्यक्तिलाई रसिया ,होरियार भनिन्छ । त्यसै गरि गडवाल तिर र कुमाउ तिर धुमधाम संग होली खेलिन्छ । आर्यहरु नै भारतवर्षको विभिन्न ठाउँबाट बसाई सर्दै आएकोले त्यहाँको संस्कृति पनि संगै आएको र त्यसमा केही परिमार्जन भइ नयाँ बसोबासको संस्कृति संग मेलहुने गरि जस्ताको त्यस्तै नभइ त्यही संस्कृति भित्रीएको पाईन्छ । ब्रज, गडवाल, कुमाउ संगै मेलखाने तवरमा डोटी क्षेत्रको रुपाल तिर होली खेल्ने परम्परा रहि आएको छ।
रुपाल गर्खा अन्तरगत पुरानो थपलामा पहिलो पटक चीर गाडेर होली खेल्ने गरिएको मानिन्छ । यहिबाट अरु ठाउँ होली सारिएको र खेल्ने गरिएको मान्यता रहि आएकोछ । डोटीको रुपाल क्षेत्रमा विशेष प्रकार ले होली मनाइन्छ । होरी खेलमा खेलाडीहरु “मै मतेवाली भयौ मोरे यार मै मतेवाली भयौ” भने जस्तै पुर्ण रुपमा समर्पण भावमा होरी खेल्छन र भरपुर मनोरञ्जन लिन्छन ।
पुराणहरुमा होलीको प्रसंग
विष्णु पुराणमा प्रह्लादको विष्णु भक्तिको प्रसंग उल्लेख गरिएको छ । प्रह्लादको भक्तिकै कारण नरसिंह अवतार भइ हिरण्यकश्यप पुत्र मारिएको वर्णन गरेको पाइन्छ । त्यसै प्रसंगमा आगोमा दहन गर्दा पनि प्रह्लादलाई आगोले डढाउन नसकेको उल्लेख पनि छ ।
दैत्येन्द्र दीपितो वह्नीः सर्वाङ्गोपचितो दिज
नददाह च यं विप्र वासुदेव हृदिस्थित।
विष्णुपुराण अ १५
महाकाष्ठचमस्थं तमसुरेन्द्र सुत ततः
प्रज्वाल्य दानवा वह्नी ददहुःस्वामिनोदित।
तातैष वह्निः पवनरितोपी
न मां दहत्यत्र समन्ततोहम
पश्यामि पद्वास्तरणास्तुतानी
शीतानी सर्वाणि दिशाम्मुखानि।
विष्णुपुराण अ १७
रुपाल गर्खामा होली
अन्य ठाउँ भन्दा रुपाल गर्खामा होली खेल्ने विशिष्ट पद्धति रहिआएको छ । एकादशी देखि पुर्णिामा सम्मका पाँचदिन पुर्ण समर्पण भावका साथ झुमेर होली खेल्दछन । होलाष्टमीका दिन चीर गाड्ने गरिन्छ । चीर गाड्ने परम्पराको शुरुवात थपलामाको मल्लाखलामा रहि आएको छ । यही परम्परा अन्य गाउँमा सारिएको थियो । अष्टमीमा गाडिएको चीर पुर्णिामा दहन गरिन्छ । मध्यकालमा जाटहरु बिस्थापित गरि पाल, मल्लको शासन स्थापित भए संगै नया संस्कृतिको शुरुवात भएको पाइन्छ । नयाँ संस्कृति संगै भित्रिएको महत्वपूर्ण चाड होली हो । रुपाल गर्खामा पाण्डेय, पनेरु, जोशी, भट्ट ,ठकुराठी, जोरा, एकै पटक ,एकै प्रकृतिमा यहाँ पुगेको पाइन्छ । तीनै मौलिक संस्कृतिका चाड पर्वमा होली महत्वपुर्ण पर्व हो । होली रंग खेलेर, राम रमाइलो गरेर मात्र होइन गायनका रुपमा ,बाद्यबादनको तालसंगै पैतोल मिलाएर खेल्ने गरिन्छ । होली खेल्ने गाउने पद्धति एउटा सामुहिक नृत्य पनि हो ।खुट्टाको पैतोल, गाथागीतको लय ,ढोलको ताल संग तादत्म्यता मिलाई खेलिन्छ÷नाचिन्छ । उभीएर गाउदै खेलिने उठी होली बसी–बसी गाउने बैठोरी होली र बाटोमा हिँड्दा–हिँड्दै गाएर खेलिने बाटा होरी गरी तीन प्रकारले होली गाइन्छ र खेलिन्छ । होलीमा गाइने गीतहरू भगवानका विभिन्न प्रसंग, श्रीकृष्ण र गोपिनीको प्रेम रासलीलाका प्रसङ्गहरू, श्रीरामको लीलाका, प्रसङ्गहरू ,विभिन्न वीरगाथाहरु,पौराणिक कथाहरु,सांसारिक विशुद्ध प्रेम गीतहरू गाइन्छन् ।
होलीको खेल नाच
डोटेली संस्कृति मुख्यतया रुपाल गर्खामा सामुहिक खेल नाचका रुपमा मनाइन्छ । अष्टमीमा चीर गाडिएको खलाबाट शुरु गरेर,नजिकको मन्दिरमा र घर–घरमा भगवानका विभिन्न प्रसंग, श्रीकृष्ण र गोपिनीको प्रेम रासलीलाका प्रसङ्गहरू, श्रीरामको लीलाका, प्रसङ्गहरू ,विभिन्न वीरगाथाहरु, पौराणिक कथाहरु, समसामयिक बिषयहरु, विशुद्ध प्रेम गीतहरू गाइन्छन् । होली गीतहरु व्रजभाषामा केन्द्रित रहन्छन । व्रज भाषा जस्ताको त्यस्तै मिलाउन नसकिए पनि हिन्दी,डोटेली, अवधि , नेपालीको मिश्रण गरि व्रज शैलीलाई जोड दिईन्छ । हरेक होलीखेलको लय फरक–फरक हुन्छ । लय अनुसार ढोलकको ताल हुन्छ । गीतको लय ढोलको ताल संगै खुट्टाको पैतोल मिलाएर खेलिन्छ । अधिकतम गीतहरू भक्तिका रहेका हुन्छन । एक प्रकारको भजन नै मान्न सकिन्छ । अनुष्ठान जस्तै चीर गाडेर, टीकाटालो गरेर ,गणेशको गाथा बाट प्रारम्भ गरिएको हुन्छ । भकारीले खेलाउछन, गीत भन्ने, लय तालमा पैतोल चलाउने अभ्यास संगै गोलो वृत हुने गरि लाम लागेर खेलिन्छन । फगुवा, रसिया भए सम्म एकै पोसाकमा रंङ्ग, अविरले रंगिएर मुक्त कण्ठमा सस्वर होली गाउछ र खेल्छन । खडी,गहिरी, चाली विभिन्न लयमा गाइन्छ । गाथा शुरुवात पृष्ठभुमिबाट गरिन्छ । गाथा चित्रण गरिए संगै सोको फल परिणाम पनि वर्णन गरिन्छ।
होलीगीतका बिबिध पक्ष
होलीमा प्रयोग हुने होलीगीत मुलतः भक्तिगीतमा आधारित हुन्छन । देवभक्ती ,देवगाथा, वीरताको चर्चाका गीतहरु हुन्छन भने समसामयिक बिषय, प्रेम प्रसंग, पनि ह्न्छन ।
१) आया जन्तर लोक दर्शन दिय हो भवानी ।
२) सितारामको ब्या हुन सखी हो
चलो जनकपुर जाना है
३) आखडो होइ रैछ जनकै पुरीमै
४) वृजकुञ्ज मै धुम मची होरी
५) जमुना तट कृष्ण खेलै होरी
६) नदि जमुना के तिर कदम चडी कानो बजाइगयो बासुरिया
७) वृज मण्डल हो ,वृज मण्डल देश देसौ रसिया वृज मण्डल हो
८) गण छोडी दे लंका रावण हो । सीता छोडी दे लंका रावण हो
९) दे के मिलो महाराज सीता दे के मिलो है
१०) चली चली असुर तेरी मदोदरी सिया मिलन चली बागा मे
११) बालक अभिमन्यु एक महारथी साथ लडे है
१२)भारत भुमि के बिच झलक रहि श्रीगाङ्गा भगरथी
१३) होरि खेलत है कैलासपती, होरि खेलत है कैलासपती
१४) शिव गङ्गा चले जग तारणको शिव गङ्गा चले जग तारणको
१५) मथुरा नगरके लोग, बाह्र रंङ्ग भिजन लागे
१६) सुमेरो राधा कृष्ण हरे कोहि हिरा जनम नहि पावगे
१७) तल धरती पुर वादल,वादल बैरी बयाल
१८) दोनौ शहरके अन्तर कुन्तर कुवा खोदाइ
१९) कपटी पासा हारी हरे पाण्डव सह द्रोपती वनको चले
२०) दशरथ बाचा हारी कैकेय राम चले वन सेवनको
२१) तुम लौटी चलो भाइ भरत मेरी परजाको दुख मत दिजो
२२) तुम तो बडि तपवान कालिका
२३) तुम घर आए बलम काहा बनिज चल्या भया भौत दिना
२४) जल कैसे भरु जमना गहिरी ,जल कैसे भरु जमना गहिरी
२५) काली बादली मा बिजुली चमकै को,काली बादली मा बिजुली चमकै को
२६)पतली कम्मर लम्बा केश सुगड जल भरन चली पनधट पर हो
२७) डिमीडिमी डमरु बजाइ शंकर देखन आए
२८) मत जाओ पिया होरी आइ रहि ,मत जाओ पिया होरी आइ रहि
२९) कोइ हिरा जनम नहि पावङ्गे
३०) करमागत टारे नाही टरे,करमागत टारे नाही टरे
३१) जमुना गहरी झिलमिलो मन छिजो छ
३२) हरिया पंख मुखलाल सुवा बोले वा जन बोले बागा मे
मेरे पियाको हारन यैसो होरी चली घर आपना
३३ )कजरा कोड बियाँ खेलीहाल्यो बेली ,लाग्यो महिना फागुनको
३४)एक पेड उठ्यो मथुरा मै जड उठ्यो जगन्नाथ
३५) दधी लुटो मेरे लडि लुटो वृन्द्रावन मोहन दधी लुटो
३६)ले चल ले चल रंरि मोहन तेरि बंसरीले मन मोह लियो
३७)हरि शिर धरी मकुट खेलै होरी,हरि शिर धरी मकुट खेलै होरी
३८)अछे हार सीता वनमे अकेली कैसे रहि
३९ )हर जी सकल अयोध्य पानले छायो छ
४०)तुम लौटी चलो भाइ भरत मेरी परजाको दुख मत दिजो
४१)अङिनाकरले साप सकि तेरि अङिना होरी आई रहि
४२)तेरी बंसरी बाजे मधुवनमे ,तेरी बंसरी बाजे मधुवनमे
४३)हर जी सकल अयोध्या पानीले छायो छ
४४)भारत भूमि के बिच झलक रहि श्रीगङ्गा जी भागरथी
४५)कर हम से ब्यवहार स गो रसना बेचन पावगें
४६)बिरहन तेरी मुरली झकझोरा राधे तेरी मुरली घनघोरा
४७)हरि शिर धरी मकुट खेलै होरी
४८)ले चल ले चल रंरि मोहन तेरि बंसरिले मन मोह लियो
४९)भलो जनम लियो श्याम राधिका भलो जनम लियो
५०)सव फगुवा मिलि दिय हो आशिष ,फगुवा जिरौ लाख बरिस
सदभावको पर्व
होलीलाई माया, प्रेम र सदभाव साटासाट गर्ने पर्वका रूपमा लिइन्छ ।रंग,अवीर लगाएर खेलिन्छ। त्यस्तै हरेक घरमा होली खेल्न पुग्दा चियाले स्वागत गर्ने गरिन्छ । नव बिबाहित दम्पती भएको र छोरो पाएको दम्पतीको घरमा पुग्दा सगुन द्यौ माछो भन्दै सगुन माग्ने गरिन्छ र गुड ,मिठाई बाडने गरिन्छ । एकै नासको पहिरनमा सजिएर फगुवा दिन भर फरक फरक किसिमका होली खेल्ने गरिन्छ।बिदेश भएका,काम बिशेषले गाउँ बाहिर गएका पनि होलीका लागि घर आउने पर म्परा रहि आएको छ ।
यसै प्रसंगमा यसरी गाईन्छ र खेलीनछ होरीको गाथा
जिनके पिया परदेश बसत है, उनिकी नारी सोच रहि मत जाओ पिया होरी आई रहि
ए ……….जिनके पिया सहदेश बसत है
खणि …. उनिकी नारी रंगभरी मत जाओ पिया होरि आई रहि
ससाना बालबनिता देखि बुढापाका पनि होलीको आनन्द लिने गरि होली खेल्दछन । होली खेल्नेहरु औपचारिकता पूरा गर्न होइन पुर्ण भावका साथ होली खेल्ने गर्दछन ।
अन्त्यमा
होलीलाई रंग, लोला तथा राम रमाइलो भन्दा पनि विशिष्ट प्रक्रिया द्वार गाउने खेल्ने गरिएको हुन्छ । आफन्तहरूको मिलन, सदभावको साटासाट उत्सवका रूपमा होली मनाइन्छ । जुज गाउँ को होली त्यो गाउँ को मुख्य स्थान देवालयमा होली खेलेर प्रत्येक घर–घरमा पनि खेल्ने गरिन्छ । होलि त अरु ठाउँमा पनि खेलिन्छन तर रुपाल गर्खाको होली खेल्ने परम्परा बिशेष प्रकारको रहेको छ। देवस्तुतीका रूपमा होली गाथा गाइन्छ । देवताका कथा, गाथाको वर्णन गरिएको हुन्छ । पृष्ठभुमि बाट शुरु गरि गाउने ,भन्ने, सुन्नेलाई समेत प्राप्त हुने फलको चर्चा हुन्छ । रुपाल गर्खामा खेलिने होलि मा विशेष प्रकारको साहित्य पाइन्छ । क्रमिक रूपमा त्यसको मौलिकता हराएर जादै गरेको चिन्ता बुढापाका छ । सम्बद्ध पक्षका जानकार हरुले मौलिकता बचाउन लागि होलीको लय भाव लाई अन्य ठाउमा खेलिदै गरेको पाइन्छ । जुन भाव, मर्म , कला, शैली हो होलीको त्यो जिवन्त हुनु जरुरी छ । यहा होली लाई डेउडा भनी दिदै गरेको प्रति रुपालका पुराना वुढापाकाले चिन्ता व्यक्त गरे । होली डेउडा होइन होली होली नै हो होलीका भकारीका रुपमा परिचित पुर्व शिक्षक पदम प्रशाद जोशीले भने ।
देउडाको जस्तै पैतलो मिलउदैमा यो देउडा खेल नभएको जोशीले प्रष्ट पारे डोटीको संस्कृतिमा डेउडा, चैत, धमारी, होली गाएर नाच्ने बिशेष प्रक्रिया छ । फरकै मौलिकता छ । लय, बाजाको ताल संगै खुट्टाको चाल जसलाई पैतोल भन्ने गरिन्छ। लय, ताल, चाल मिलाएर गाउनु नाच्नु खेल हो । त्यसैलाई होली खेल पनि भनिन्छ ।
(लेखक संस्कृतिविद तथा समाजशास्त्री हुन)
