गाँउघर न्युज सम्वाददाता
डडेल्धुरा, असार ५ ।
डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि जिल्लास्तरीय समन्वय, सहकार्य समिति गठन गरिएको छ ।
अमरगढी नगर प्रमुख डिल्लीराज जोशीको संयोजकत्वमा जिल्ला समन्वय समिति प्रमुख, राष्ट्रिय भूमि आयोगका अध्यक्ष, जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नापी, मालपोत, वन, स्वास्थ्य, शिक्षा समन्वय कार्यालयका प्रमुखहरु सदस्य रहने गरी समिति गठन गरिएको हो । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बजेटमा डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि आवश्यक पहल थालिने उल्लेख भएको छ ।
अमरगढी नगरप्रमुख जोशीको अध्यक्षतामा बसेको सर्वपक्षीय, सर्वदलीय बैठकले समिति गठनसँगै डडेल्धुरामा सुदूरपश्चिम विश्वविद्यालयको कार्यालय स्थापना र डिनको नियुक्त तत्काल गर्न हुन आग्रह, जिल्ला अस्पताल र जनस्वास्थ्य कार्यालयको नाममा रहेको जग्गा, भवन उपलब्ध गराउन आग्रह गर्ने निर्णय भएको अस्पताल विकास समितिका अध्यक्ष करुणाकरण ओझाले बताए ।
सङ्घीय सरकारको मातहतमा रहेको डडेल्धुरा अस्पतालसँग १५३ रोपनी जमिन रहेको अस्पतालका मेसु चेतराज भट्टले जानकारी गराउनुभयो । अस्पतालमा अहिले एक सय शैय्या रहेको उनले बताए । करिब दुई सय शैय्या सञ्चालनका लागि भवन एवं आवश्यक भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा रहेको उनले बताए ।
मेडिकल कलेज स्थापना गर्न दुई सय रोपनी जग्गा आवश्यक पर्ने नेपाल सरकारको मापदण्ड रहेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. अमरराज जोशीले बताए । आगामी सय वर्षलाई जग्गा उपलब्ध हुनुपर्ने र योजना अनुसार बनाउनुपर्ने उनले बताए ।
