पदम जोरा,डडेल्धुरा
हरेक तेस्रो वर्षमा मनाईने डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिकाको रुपालमा लाग्ने विश्वकै अलौकिक जोगेनी जात्रा (जात) यस वर्ष भाद्र २९ गते मनाईने भएको छ ।
डोटी क्षेत्रमा देवी देवताको मुख्य पुजाको अवसरलाई जाँत भन्ने गरिन्छ । सामान्यतया जाँत तिथिमा हुन्छन । तिथि संगै अगाडि पछाडी पनि पुजा हुने गर्दछ जसलाई डाडाँगन्त भन्ने गरिन्छ । कुनै पर्व बिशेस ,कहि दिन दिएर, पुजा अर्चना गर्ने जात्रा मनाउने रित परम्परा लाई जाँत भनिन्छ ।
देवताको पुजा लाग्ने दिनलाई हुलो भन्ने गरिन्छ । जाँत थरी–थरिका हुन्छन । कही जाँतमा देउरा ल्याउने पनि गरिन्छ । जातमा चौंलो बनाईन्छ । चौलोमा वीर चरित्रको प्रदर्सन गरिएको हुन्छ । वीरताको चर्चा वीरगाथा बर्णन , वीरता सम्बन्धि आयुध प्रदर्शन गरिन्छन । छुट्टा–छुट्टै भाती चाल चलन हुन्छन जाँत हरुमा । विभिन्न स्थान मा लाग्ने मेला जात्रा जाँत मध्ये निकै पृथक र विशिष्ट महत्व बोकेको जाँत डडेल्धुरा जिल्लाको रुपालमा हुने गर्छ । प्रत्येक तेस्रो वर्ष गौरा बिसर्जन गरेको भोलि पल्ट अदभूत किसिमको भूतको जाँत हुने गर्छ ।
रुपाल संस्कृतिको छुट्टै पहिचान बोकेको क्षेत्र हो । तत्कालीन डोटी राज्यका तमाम गर्खा मध्ये रुपालको विशिस्ट परिचय देखिन्छ । रुपाल भगवान भागेश्वर, असिग्राम, खिटकेश्वर महादेव अदि देवादी देवका स्वरुप बाट निवास भएको क्षेत्र मानिन्छ । विद्वत बर्गको वासस्थान रहेकाले पनि ब्रह्मपुरी भनी पनि भन्ने गरिन्छ । प्रत्येक चाँड पर्व जात्रा महोत्वव, जीवनोपयोगी संस्कार विधि पुर्वक गरिन्छन । पहाडी क्षेत्रको मनोरम उपत्यका बिचमा रुद्रावती प्रबाहित भईरहेको अति नै सुन्दर बस्ती हो रुपाल ।
रुद्रा तदतुरेजाता शंकर पाद निस्रीता ।
पूर्वे भागेश्वरो देव धुन्धु पर्वत सुब्रत ।।
रंगुन नदीको प्रसंगमा रंगुन नदीको उत्तरमा शतरुद्रा रहेको उल्लेख छ । शतरुद्रा मध्ये रुपालको मध्य भएर रुद्रावती शंकर भगवानको पाउ बाट निस्केर प्रवाहित भएकी छ्न । जसको पूर्वतर्फ भागेश्वर भगवान बिराजमान हुनु हुन्छ।
जेठी नेपाल कान्छी रुपाल पनि भन्ने गरिन्थ्यो । गर्खाको चर्चा हुदा
पश्यो भण्णु पशुपति हो जोराइल जंङ्गी हो ।
पिल्कोटी लठ्ठीको बल रुपाल रंङ्गी हो ।।
भने सुन्दर रमणीय रुपालको चर्चा पाइन्छ । हरेक चाँडपर्वहरु मा रुपालको मौलिक संस्कृति रहि आएको छ । रुपाली शैली, वान्की ,छाट ले भिन्नै पहिचान दिन्छ । मौलिक संस्कृति को बिशिस्ट पहिचान बोकेको जोगेनी जाँतको समेत छुट्टै महत्व रहि आएको छ ।
योगिनी बाट जोगिनी हुँदै जोगेनी भनिको हुनु पर्छ । शास्त्र ,पुराण हरु मा चौसट्ठी योगिनीको बर्णन पाइन्छ । जाँतमा पनि चौसट्ठी माता भनेर चौसट्ठी योगिनीलाई नै जोगेनी भनिएको हुनु पर्छ । स्कन्दपुराणमा भागेश्वरको चर्चा हुदा पुजन्ते सिद्धयोगिन भनेर योगिनीको उल्लेख गरिएको पाईन्छ । योगीनी देवी कालीकाका बिभिन्न स्वरुप पनि हुन साथै सिद्वि प्राप्त स्वाधीहरु मध्येवाट पनि योगीनी बनेको पाईन्छ ।
विभिन्न पुजा पाठ मा नवग्रह मण्डल संगै चौसट्ठी योगिनीको मण्डल बनाई पुजा गरिन्छ । यज्ञ–यज्ञादि अनुष्ठानमा चौसट्ठी योगिनीको बिशेष पुजा प्राय पृथक बेदिमा चक्र बनाएर गरिन्छ । चौसट्ठी योगिनीलाई विभिन्न किसिमले उल्लेख गरेको पाइँन्छ । यज्ञ ,यज्ञादीमा चौसट्ठी योगिनीको छुट्टै वेदी बनाएर बिशेष पुजा गरिन्छ । साधारण पुजामा प्राय षोडश मातृका मण्डलमा चौसट्ठी योगिनी आवाहन तथा पुजा गरिन्छ । चौसट्ठी योगिनीलाई यसरी नाम दिईएको पाइन्छ ।
चौसट्ठी योगिनीको आवाहन गरि ॐ चतु षष्टियोगिनीभ्यो नमः मन्त्र द्वारा गन्धादी उपचारका साथ पुजा गरिन्छ।
अनेकभावसंयुक्ता संसारार्णवतारिणी ।
यज्ञे कुर्वन्तु निर्विध्नं श्रेयो यच्छन्तु मातरः ।।
भनेर प्रार्थना गरिन्छ।चौसट्ठी योगिनीको विभिन्न यज्ञ–यज्ञादी मा पुजा गरिन्छ ।
रुपालमा अदभूत रुपमा पुजा गरिने र दिन भर चौलोमा भोस्सी खेली जात्रा मनाईने योगिनीको संख्या भने तीन सय चौसट्ठी रहेको छ ।
चौसट्ठी माता भली खुसी हुन्नी , चौसट्ठी माता की जय भन्ने भनाइ बाट चौसट्ठी योगिनीको प्रसंग आउँछ । जोगेनी टुपुरामा रहेका ढुङ्गाको संख्या पनि तीनसय चौसट्ठी छ । निकै भिन्न प्रकारको पुजा बिधान छ । प्रत्येक तेस्रो वर्ष बिरुडा पञ्चमीका दिन कर्नैको धामी बाट हुने पञ्जनीमा शनिबार र मंगलवार पर्ने गरि दिन तोकिन्छ । रुपाल गाउँको प्रत्येक घर बाट पुजाका लागि नालीडोरी उठाइन्छ । सुनी जात का मानिस बाट पुजा लगाईन्छ । जात्रा लाग्ने अघिल्लो दिन गौरा बिसर्जन गरिन्छ । गौरा ल्याइने प्रत्येक खला मा चौलो खेलिन्छ । चौलो खेलिनुलाई चलो हाण्णु भनिन्छ । जेठो चौलो कोटेउडाको भएकाले कोटेउडामा गौरा सेलाउने बित्तिकै चौलो खेलीन्छ ।
जोगेनी जाँतको इतिहास
जोगेनी जाँत नाागी मल्ल राजाका पालामा सुरु भएको भनाईछ । रुपालको माहाकाली नदीनजिकै जाख भन्ने गाउँमा ‘सुनी’ जातिको बसोबास थियो । उनीहरू महाकाली नदीमा माछा मार्ने गर्दथे । एक दिन त्यस गाउँका काका भतिज नाता पर्ने दुईजना माछा मार्न जाल लगेर महाकाली गएछन् । त्यसदिन जालभित्र मान्छेको अनुहारका माछा परे । जालसहितको माछालाई घिसार्दै तान्दै काका भतिजाले घरमा लगे । घर पुगेपछि माछालाई के गर्ने भनेर गाउँका सबैलाई बोलाई छलफल गर्न थाले । कसैले गाँउले माछालाई काटेर भागलगाई खाऊँ भन्न थाले भने कसैले अजयमेरु दरबार राजा कहा लैजाऔ भन्न थालेछन्।
त्यो बेला अजयमेरुमा नागी मल्लको शासन थियो । गाउँमा कुनै नयाँ घटना वा नयाँ बस्तु भेटिएमा दरबारमा लैजानुपर्ने चलन थियो । त्यसैले सबै गाँउले ती माछालाई जालसहित अजयमेरु दरबार लैजाने निर्णय गरे।
राति नै लैजानुपर्ने भएकाले गाँउलेहरू सबै मिली त्यो जालसहित नै बोकेर हिँड्न थाले । जाँदै गर्दा एउटा माछा जालबाट निक्लेर भाग्यो । रात भरि हिँड्दा हिँड्दै लटदेउ (लाटादेउ) भन्ने ठाउँमा पुग्दा त्यहाँ पनि जालबाट अर्को माछो पनि निक्लेर भागेको रहेछ । त्यो माछो त्यही लट्देउ (लाटादेउ) पारी पट्टिको जोगेनीपातलमा पुग्न गएछ ।
त्यहाँबाट जाँदै गर्दा जोगेनी डाँडामा पुगेपछि थकान मेट्न एकछिन् बसेछन र जाल पनि छेउमै राखेछन । केही छिनपछि उज्यालो भयो । तिनीहरू हिँडौ भनेर जाल राखेको तिर गए तर त्यहाँ हेर्दा जालभित्रका माछा ढुङ्गा वनिसकेकाथिए । त्यो देखेर र सबै जना आत्तिएछन् त्यसै बेला आकाश गर्जिएछ र पानी परेछ । ती सुनीहरू डराउँछन्। यो के भयो? कसरी भयो? भनेर र सबै घर र्फिता भए ।
यता पूरै रुपालमा अनर्थ र अशान्ति भयो । कोही काम्न त कोही पागल भए रे । यस्तो अनर्थ देखेर गाउँका सबै मिली धामीझाँक्री बोलाएर पञ्चनी गरेछन् । पञ्चनीमा सुनीहरु पनि आए र उनीहरुले त्यो घटना बताएछन् । तर कसैले पनि शान्त गर्न सकेनन् ।
पछि त्यहीँ रुपाल कोटेउडाको कर्लै देवताले शान्त पार्यो । भनिन्छ, कर्नै देवतामा जोतिषि ज्ञान पनि भएकाले सान्त पार्न सकेका हुन् । कर्नै देवताले ती ढुंगामा ‘जोगेनी माता’ र वीर (भूत) भएकाले तिनीहरूको राम्रो योगले पूजा गरेपछि शान्त हुने र यो पूजा प्रत्येक तीन वर्षमा गर्नुपर्ने हुुुन्छ। पूजामा दुईखुट्टे(दोखुट्टे) र चारखुट्टे(चौखुट्टे) को बली दिइन्छ ।
त्यो बेला कर्लै देवताले ‘जोगेनी माता’ र वीरहरूलाई शान्त पार्नको लागि भएको पञ्चमीमा जोगेनी माताले मानिसको रुपमा आई यसरी पूजा खाने भनेकाले त्यहाँ पूजाआजाका साथै बलि चढाइन्छ । स्थानीय देवताका धामीहरु पनि पञ्जनी मा बस्छन । सो दिन कोटेउडा र लटदेउ (लाटादेउ) हुने पञ्चनीमा भैरव बाधिन्छ । भूमिको मालिक भएकाले कैलपालको भुमिका निकै महत्व पुर्ण रहेको हुन्छ । समैजी देवताले पनि महत्वपुर्ण भुमिका निभाएको हुन्छ । भैरवमा पुजाको भाग स्वरुप नेजाधजा भेटी सहित कोटेउडा र लट्देउमा बाटोमा छुट्टिएका माछाहरुको अघिल्लो साझ पुजा हुन्छ ।
प्रचलन
रुपाल जाख गाउँका सुनी थरका एक घरका काका भतिजा महाकाली नदीमा माछा मार्न गएका थिए । महाकालीमा चौसट्ठी योगिनी पौडी रहेका थिए । योगिनीहरु लाई पुर्व जन्मको श्राप थियो कलियुगमा मनुस्यले छुने बितिक्कै पत्थर भएर बस्ने । त्यही श्राप मोचन का लागि मानव आउन र स्पर्श गरून् भनी नदीमा माछा रुपमा पौडी रहेका थिए । संयोग त्यस्तै प¥यो । सुनीले नदीमा जाल छम्काए जालमा योगिनी समातिइन । सुनी लाई योगिनीले आफ्नो परिचय दिए । सुनी लाई हामी तिम्रो कुनै काम आउन सक्दछौ । एक पटक प्रयोग गर्ने गर्न सक्छौ । सुनीले अजयमेरु कोटको राजा निकै शक्तिशाली छ । त्यसका विरुद्ध प्रयोग गर्नु प¥यो भनी योगिनी सहितको जाल बोकेर हिडे । बोक्ने समय योगिनी पत्थर रुप भई सकेका थिए । एउटा पत्थर जोगेनी पातलमा खस्यो । अजयमेरुकोट पु¥याउने सुर सहित हिडेका सुनी रुपाल गाउको माथी उच्चो डाडामा पुग्दा उज्यालो भएछ । त्यही डाडामा बोकेर लगेका योगिनी छोडेर घर फर्किए । नौतडीका जोशीको हल्दो(बेसार) रोप्ने जमिन थियो बेसारकै बारीमा योगिनी छोडिएका थिए । बेसार गोड्मेल गर्न एक बामनी(जोशी पत्नी)वारीमा पुगिन । योगिनी भूत रुपमा थिए । भूत योगिनीले मानिस आएको चाल पाए ती बामनी लाई खाइ दिए । बामनी त्यही मृत अवस्थामा थिईन ।राती अबेरसम्म घर नआएकोमा घरका मानिस चिन्तित भए खोजीमा निस्किए हल्दीगडामा मृत अवस्था वामनीलाई भेटे । मरेको कारण के रहेछ भनी सबै जना खोजतलास गर्न थाले ।
कोटेउडामा सार्किको घरमा एक जना केटा मानिस थियो । उक्त केटालाई कर्नै भनी चिन्दथे । कर्नै नाउ गरेको केटा एक दिन आफ्ना बुबा संग रुद्रावती तर्दा उस्को बुवा नदीमा बगेछन । उनी निकै ठुला ज्योतिषी थिए । तन्त्र साधक पनि थिए।बुबा नदी तर्दा बगे पछि ज्योतिषीको छोरो एक्लै निन्याउरो अनुहार लगाई रुन लागयो ।
त्यति बेला त्यही बाटो गरि कोटेउडाका एक जना सार्की आएछन । एक्लै रोइरहेको केटोलाई आफुसंगै लगे तिनै ज्योतिषीपुत्र कर्नै थिए । उनले तन्त्र साधना जानेका थिए । हल्दिगडामा भएको घटना कर्नैले पनि सुने। बगौली तन्त्र साधक समेत रहेका कर्नै ले भूत योगिनी बाट घटना घटेको र अझै यस्ता घटना घटदै जाने बताए । नभन्दै विभिन्न घटना अप्रत्याशित घटना घटदै गए । कही बस्तु भाउ मरे, कही मानिस माथी नै आक्रमण भए पछि सबै रुपाली कर्नै संग समस्या समाधानको उपाय खोज्न भनी विन्ती विसाउन थाले । कर्नैले स्थानीय देवताका धामीहरु बसाए।जाख घर भएका सुनी पनि बोलाए । सुनीले योगिनी जालमा छोपे पछि भएको सम्बाद सुनाए । जालमा समातिए पछि मैले तिनका बारेमा सोधे को हौ, कसरी मेरो जालमा फस्यौ भन्दा ती मध्ये बाट उमेरले छिप्पिएकी गेरु बस्त्र धारण गरेकि आइमाई जस्ती देझिने अगाडि आएर भन्छिन । म चौसट्ठी योगिनी मध्ये एक हु । यी तीन सय त्रिसट्टी मेरा छोरा हुन।यतै खेल्छौ, मसानमा रमाउछौ, मुर्दा बोकेको देख्दा अति खुशी हुन्छौ । जिवित मानिस संग सामान्यतय बैर भाव छैन । हाम्रो बाटो छेके हामीलाई जिस्क्याए मेरा छोराहरु जाइ लागि हाल्छन । सुनीको कुरा सुनेर कर्नैलाइ थप बल पुग्यो । समाधानका उपाय निकाल्न सजियो भयो ।स्थानीय देवता कैलपाल, लाटाराय, समैजीका धामीहरुले पनि कर्नै लाई सघाए।
देवताको बलले योगिनी सहितका भूतहरुलाई नियन्त्रणमा ल्याए । रुपाल गाउ किन आतंकित गरेको के गरेर यो समस्या को समाधान हुन्छ भनी योगिनीलाई कर्नैले कैलपाल मार्फत सोधियो र समस्या समाधानको उपाय पनि मागियो । योगिनीले प्रत्यक्ष तेस्रो बर्ष गौरा बिसर्जन गरेको भोलि पल्ट पुजा लगाउनु पर्ला । दोखुट्टे, चौखुट्टेको वली बलि दिनु पर्ला । तीन सय चौसट्ठी पातलामा जौका एकपल्टे रोटा र पातालमा दोखुट्टे ,चौखुट्टेका नि सय ६४ मासुको टुक्रा राखेर हामीलाई ल्याई सुनीले पुजा लगाउने छ्न । दुई खुट्टा भएको जीव भनी डराउनु भएन कुखुराले पनि मान्ने छु । रुपालमा हरेक गौरा हुने ठाउँ बाट चौलो उठाउनु पर्ला । सबै रुपाली अनिवार्य समाबेश हुनु पर्ने छ ।
जोगेनीले तोकेका सर्त पूरा गराउने कर्नैले जिम्मा लिए । जोगिनीले माथिका सर्तहरु पुरा भए शान्तपुर्वक वस्ने र रुपाली सबैलाई शान्ती दिने प्रण गरिन । हल्दोगडामा योगिनी चक्रजस्तै गोलो घुम्न मिल्ने ठाउँ रहेकोछ । त्यसलाई मण्डल भन्ने गरिन्छ । सोही मण्डलमा बामनीमाताको पनि पुजा हुन्छ । प्रत्येक घरबाट निगालाको लठ्ठीमा नेजा बाधेर ल्याउनै पर्ने । नाङ्गो खुकुरी तरवार, दाइन दमाउ, ढाल, सिट्टी खाकर ,घोडा सहित चौलो खेल्नु पर्ने प्रचलन छ । एक जनाले चौलोमा जोगेनीको गाथा भन्नू पर्ने अरुले भोर भोस्सी भनी साथ दिएर गोलोमा छडके छडके घुम्नु पर्ने हुन्छ।
‘चौलो’को रौनकता
जोगेनीजातको दिन बिहानै सबै गाउँलेहरू खाना खाएर आ–आफ्नो देउथलिमा चौलो खेल्छन् । मूल चौलो कोटेउडाको भएकाले सबैभन्दा पहिले अगाडि बढ्छ र पण चौलोसंगै गोल्देउखलामा मिसिन्छन् । पण र कोटेउडाको चौलो, पड चौलोको देवथली गोल्देउखलामा केहिबेर चौलो खेल्छन्। तल्ला रुपालमा बाह्र गाउँ जोरा ठकुराठी सहितको चौलो लाटादेउको खलामा खेलीन्छ । लट्देउ खलामा चौलो खेल्दै जादा पाँच पटक भैरव वादीएको अर्थात जोगोनीपातलमा रहेको योगीनीलाई सुनाउने गरी चौलो खेलीन्छ खला नजीकका घर भित्रका भाडाकुडा हल्लीनु पर्ने, दैलोको साङलो हल्लीए पछि मात्र योगीन खुसी हुन्छीन भन्ने मान्यता रही आएको छ । योगीनीलाई खुीपार्न चौलो कम भएमा उनै जाखका सुनीले किरमणाको छिकडाले हान्दै खेलाडी चौलोमा मिसाईन्छ । चौलो कम भएमा योगीनीले आफु खसी न भएको संकेत देखाउदै मुख्य करीया लट्ठ्याउछीन ।फेरी भोस्सी निरन्तर जारी रहन्छ र करीयालाई भोस्सीकै विचमा परिक्रमा गराईन्छ कैलपालले खलाको माटिको टिका लगाई ठिक पारीन्छ । पाचँ पटक परिक्रमा गरी सकेपछि कैलपालको निर्देशनमा चौलो अगाडी बढाईन्छ । चौलोमा लाटा, समैजी, कैलपाल बिणाबसि रक्षार्थ काम गर्दछन ।
तल्लो रुपालकै रञ्चुला र पाण्डेयगाउँवाट आएको चौलो वयलपाटमा मिलाईन्छ । रित अनुसार तोकीएका ठाउमा खेल्दै अगाडी बड्छन ।
रुईनपाटामा तल्ला रुपालीको एकै चौलो हुन्छ । चौलोमा नौत्ड्या हा¥या भनी खेलबाट बाहिर रहेकालाई जिस्क्याईन्छ, हारेन हा¥या भनी खेलमा सामेल हुन्छन । कुनै बेला तल्ला रुपाली हा¥या, कुनै बेला बिस्तड्या हा¥या भनिन्छ भने अधिकांश नौतड्या हा¥या बढी भनिन्छ।
त्यसपछि चौलो खेल्दा खेल्दै गन्तव्य स्थल मा पुग्छन । सबैभन्दा पहिले डमरु बजाइ सार्की, तिरुवा र सुनीहरू कुण्डमा पस्छन्। त्यसपछि कुण्डमा चौलो पस्छ। ५–५ फन्का घुमेपछि त्यो चौलो (पणकोटेउडा) नौतडीको चौलोलाई पर्छ्याईन्छ । पर्छ्याएपछि फेरि चौलो कुण्डमै प्रवेश गर्छ र चौलो खेल्छन । केही समय चौलो खेलेपछि त्यो चौलो (पडं कोटेउडा नौतडी) बिस्तडीको चौलो र्पछन जान्छन ।
चारवटै चौलो मिसिएपछि कुण्डमा चौलो खेल्छन् । कतिबेला आधा चौलो बाहिर गएर खेल्छ भने कतिबेला पुरै चौलो बाहिर जान्छ । खेल्दा खेल्दै तल्ला रुपालको चौलो आइपुगेको खबर सुनेपछि त्यो चौलो(पण कोटेउडा नौतडी ंबिस्तडी) पर्छ्याउन जान्छ । तल्लो रुपालको चौलो र पर्छ्याउन गएको चौलोको मिसिने ठाँउ भिरालो भएकाले धेरै मानिसहरू चिप्लिन्छन् पनि । चौलो पर्छने क्रममा तलमाथि, अगाडी पछाडी खुबै रस्सा–कस्सी हुन्छ । निक्कै रस्सा–कस्सी पछि तल्ला रुपालीको र मल्लो रुपालीको चौलो मिसाईन्छ ।
पाँचवटै चौलो मिसिएपछि कुण्डमा खुट्टा राख्न सम्म ठाउँ हुँदैन। त्यसमा पनि अधिकांश चौलो खेल्ने हरूसंग नाङगो तरबार, नाङगो खुकुरी, सिस्नुको हाङ्गा, किरमडाको भिकडा, काँडा भएको तिमुरको लौरि र नेजाध्वजा खेलाडीहरुले हातमा बोकेका हुन्छन भने पाछाडी पछाडी घोड्सावारी खेलाडी पनि चौलोमा हुन्छन् । कुण्डमा खेलिरहेको चौलोको आबाज,सिट्टि बजाएको आबाज र दमाहा (दाइन)को आवाजले त्यहाँको वातावरण मनमोहक हुन्छ भने उक्त चौलोले पुर्वमा भागेश्वर , पश्चिममा शिबनाथ , दक्षिणमा अशिग्राम उक्तरमा जगन्नाथलाई दर्शन गरी खेल्ने गरीन्छ ।
नाङगा हात हतियार सहित चौलो खेल्ने भएकाले चोटपटक पनि लाग्ने गर्दछ। चौलो खेल्दाखेल्दै लागेको चोटपटकलाई जोगेनी माताको आशीर्वाद हो भनी त्यहिको माटो लगाईन्छ ।
खेल्ने क्रममा कर्लै देवताको धामीलाई तिरुवाहरूले काँधमा राखीभित्र बाहिर घुमाउँछन्। घुमाउने बेलामा धामीले बाख्रालाई मुखमा च्यापेको र दातले टोकेको समेत हुनछ । त्यसपछि पूजा विधि सुरु हुन्छ भने चौलो बाहिर जान्छ। उता सार्की र तिरुवाका महिलाहरू एकपल्टे जौको रोटी पकाउँछन्।
पूजाआजा
मण्डल खाली भएपछि मसानको माटोले घेरा हालिन्छ र मालुका पातको पातला विछाएर चामल अनि कालो मसि छरिन्छ। पुजा प्रारम्भ संगै बामनी माताको छुट्टै पुजा गरीन्छ । बामनी माताको पुजा पछि कुखुराको टाउको काटेर उडाईन्छ भने बाख्राको बली कुण्डको बीचमा तीनसय चौसठ्ठी ढुङ्गामा (तीन सय चौसठ्ठी वीरहरूको माथि) राखेर दिईन्छ ।र बाख्राको सबै खुन (रगत) तीन सय चौसठ्ठी ढुङ्गामा (तीन सय चौसठ्ठी वीरहरूको माथि) छरिन्छ । त्यसपछि एकपल्टे रोटि ल्याएर त्यहाँ बिछाइएका पातलामा एक एक गरि राखिन्छ । भित्र पूजा चल्दै गर्दा बाहिर गएको चौलोभित्र आउन धेरै प्रयास गर्छ तर सुनी जातीका मानीसहरुले द्वारमा किरमडाको झिकडा समाती पहरेदारको भुमीका खेल्छन बाहिरीएको चौलो भित्र प्रबेसमा रोक लागाउछन । सुनीहरू चौलोभित्र न आओस् भनि सिस्नु, लौरि, तरवार, खुकुरीले प्रतिकार गर्छन् तर खेलाडीहरु भित्र जान पाउ भनी मण्डल जानाउ भणि पुजा भई रहेको अवस्थामा रमाईलोका लागि जिस्क्याई रहन्छन ।
बली दिइएको बाख्रालाई काटेर कलेजो र मासुका तीन सय चौसठ्ठी भाग बनाएर कुण्ड भित्रका तीनसय चौसठ्ठी ढुङ्गालाई (तीनसय चौसठ्ठी बिरहरूलाई) दिई सकेपछि पूजाविधि सकिन्छ ।। वोलो चौसट्ठी माताकी जय भनी पुकार्दा दर्शनार्थि महिलाहरुले अक्षताले पुजा गरेपछि बाहिर गएको चौलो कुण्डमा पस्छ र दिन भरि चौलो खेलिरन्छन्। बिहानदेखि साझसम्म निरन्तर खेलिरहेका चौलोले दिनभर त्यहाँ को वातावरण गुञ्जयमान बनाइरहेको हुछ। निरन्तर नरोकिने चौलोमा कतिबेला खेलपनि हाल्ने गरिन्छ।
थाइ थाइ पालुरी घाँस वाइथाइ ।
कारी कुरि आसि क्याइ उद्याउछै ।
तम भिना तति क्याइ उदास ।
हेर शाली मेरि बासुली टुटि ।
शाली मैलाइ बासुलीको सोच ।
मेरा दाईलाइ निगालाको सीप ।
यस्तै शब्दमा चैत खेल चलिरहदा बिचैमा कुनै एक जनाले ओज्वानौ भोर भोस्सी भनी फुर्कादै उफ्रन्छ सबै गोलो घेरामा भोर भोस्सी भन्दै। उफ्रीन्छन । यो क्रम निरन्तर जारी रहन्छ ।
दिन भरि खेल्दाखेल्दै यस जात्राको रमझममा यताउता घुम्न अतिनै मनमोहक लाग्छ। दिनमा पुरुषहरूको चौलो हुन्छ भने महिला देउडा खेल्छन्। यो जात्रा भाद्र महिनामा हुन्छ । दिनभर रमाइलो गरेर जात्रा सम्पन्न हुन्छ । अन्तमा बारमासे र सिशको चैत खेलीन्छ । चौलामा बोकेका नेजा धाजा मण्डलमा बिर्सजन गरी सबै जना घर फर्कीन्छन अँध्यारो भएपछि वीरहरू चौलो खेल्ने भएकाले सबैजना आ–आफ्नो घर सुरक्षित बस्दछन ।
अदभूत किसिमको जात्रा हुन्छ रुपालमा प्रत्येक तेस्रो बर्ष जात नभएमा गाउँमा अनिस्ट हुन्छ भन्ने मान्यता छ । चौसट्ठी माता भल खुसी हुन्नी बरदान दिन्नी ।अपुता पुत दिन्नी । निर्धनलीलाई धन दिन्नी भनेर भोस्सी खेलिन्छ । चौलो शुरु भए संगै सबै रुपालीहरु आ आफ्नो घरको झ्याल ढोका बन्द गरी जोगेनी डाडाँमा अनिवार्य मिठा, मसिना पक्वान कोशेली स्वरुप बोकेर आफन्तलाई बाड्ने गरी लैजान्छन र भेटघाट गर्दै सहभागि हुन्छन । महिलाहरु छुट्टै स्थानमा देउडामा दोहोरी खेल्दछन । जहा नयाँ भाकाहरु पनि निस्कन्छन । यसरी नयाँ भाका आउने ठाउ मध्ये सोही रुपालको गैरीवगर र जोगेनीजात महत्वपुर्ण मानिन्छन ।
ताउली धोएई खसमस भतेली रगड ।
की खेल्ली जोगेनीजात की गैरी वगड ।।
जस्ता गीतले दिनभरी रमाईलो गरी देउडा खेल्छन पुरुषहरुका पनि देउडा खेल पनि चल्दछन । स्थानीय उत्पादनको बिक्रिवितरण हुन्छन,
उक्त अदभुत प्रकृतिको जोगेनी जाँतमा देश परदेशमा रहेका अधिकान्स रुपाली खेल्नका लागि घर आउछन भने , छिमेकी जिल्ला तथा गाउँ बस्तीहरवाट पनि यस जात्रामा रमाउन उल्लेख्य संख्यामा सहभागि हुने गर्दछन ।
संस्कृति एक पुस्ता बाट अर्को पुस्ता मा हस्तान्तरण हुन्छ भनिन्छ । पुस्तौ पुस्ता देखि निरतर हस्तान्तरित संस्कृति हो जोगेनीजात । पहिलो पटक हेर्नेका लागि नौलो भए पनि रुपालीका लागि अनिवार्य र उत्सव पनि हो । दिउसोको मेला भएका ले भेटघाटको अवसर पनि हो । जोगेनी जातँ सम्पन्न भए पछि रुपालमा सुख, शान्ती, अमनचयन, धनधान्यले भरीर्पुण, अन्नपातमा बृद्वि हुन्छ भन्ने मान्यता रहीआएको छ । सामान्यतया योगीनीको पुजा हरेक ठाउँका यज्ञ–यज्ञादीमा गरिन्छ , भने यो विशेस प्रकृतिको भूतको अभीनय गर्दै भोस्सी खेली योगीनी(जोगेनी) लाई खुसीपारेको यो जात्रा निकै मौलीक छ । हालको भागेश्वर गाउँपालिका वडा.न २ (साविक रुपाल गा.वि.स.को वडा.न ३)मा रहेको सुन्दर अग्लोडाडाँको टुप्पोमा जोगेनीजातँ हुने स्थान छ । जसलाई जोगेनी टुक्रा भन्ने गरीन्छ । जहावाट डडेल्धुरा, बैतडी जिल्लाका मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।
