सुदूरपश्चिम प्रदेशसभामा एमालेका दुई समूह
समर्थन फिर्ता लिइसक्यौं – ओली पक्षका सांसद समर्थन कायम छ – नेपाल पक्षका सांसद
अर्जुन शाह. धनगढी — सुदूरपश्चिम प्रदेशसभाको शुक्रबार सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकमा एमालेका ओली र खनाल नेपाल पक्षका सांसदहरूले परस्परविपरीत धारणा राखेका छन् ।
सुदूरपश्चिम प्रदेशसभाको शुक्रबार बसेको वर्षे अधिवेशन बैठक ।
अध्यक्ष केपी ओली पक्षधर सांसदले सरकारलाई दिइएको समर्थन फिर्ता लिइसकिएको दाबी गरेका छन् भने संसदीय दलका तर्फबाट बोल्दै माधवकुमार नेपाल पक्षीय सांसदले समर्थन कायम रहेको बताएका छन् ।बैठकको सुरुमै आफ्नै आसनबाट उठेर बोल्दै ओली समूहका सांसद पठानसिंह बोहराले एमालेले मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिइएको समर्थन फिर्ता लिइसकेकाले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए । ‘जेठ १४ गते नै हाम्रो पार्टीले सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको पत्र दर्ता गराइसकेका छौं ।’ सांसद बोहराले भने, ‘आफूहरू प्रतिपक्षी भएकाले बसाइ तथा सिटिङको पनि अलग्गै व्यवस्थापन हुनुपर्छ ।’
त्यसलगत्तै सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभा नियमावलीअनुसार विशेष समय उपलब्ध गराएका थिए । विशेष समयको पहिलो वक्ताका रूपमा एमाले संसदीय दलको प्रतिनिधिका हैसियतले प्रदेश सांसद अमरबहादुर साउदले मन्तव्य राखेका थिए । उनले सांसद बोहराको भनाइलाई प्रतिवाद गरेका थिए । सांसद साउदले बोहराद्वारा व्यक्त धारणा आश्चर्यजनक भएको बताए । उनले भने, ‘हामीले संसदीय दलको आठौं बैठकबाट त्रिलोचन भट्टको वर्तमान सरकारलाई समर्थन कायमै राख्ने सर्वसम्मत राख्ने निर्णय गरेका हौं,’ उनले भने, ‘वर्तमान सरकार अझ प्रभावकारी ढंगले सञ्चालन हुनुपर्छ ।’
‘अहिलेको सरकार जुगाडको’
विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले अहिलेको सरकारलाई जुगाडको सरकार भएको बताए । ‘जुगाडमा चलेको अहिलेको सरकारमा कमाउने होडबाजी छ,’ सांसद रावलले भने, ‘स्थानीय सरकारको एउटा युनिट जतिको प्रभावकारी पनि भएन ।’ अहिलेको सरकार अल्पमतको सरकार भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने धारणा उनको थियो ।
उनले अहिलेको अभ्यास संसदीय परम्पराविपरीत भएकाले आफूह
rkरू पनि उपहासको पात्र भएको बताए । चुरे दोहन हुने गरी हालै सरकारले ढुंगागिट्टी उत्खनन गर्न पाउने निर्णय गम्भीर भएको उनको भनाइ थियो । उक्त निर्णबाट चुरे सखाप हुने उनले बताए । बजेटको तयारी भइरहेकाले अब आउने बजेट कोभिड र कालो ढुसी (ब्ल्याक फंगस) नियन्त्रण, उत्पादनमुखी योजनाहरूमा केन्द्रित हुनुपर्नेमा उनको जोड थियो । ‘प्रदेश सरकार भ्रष्टाचारले लिप्त छ,’ उनले अगाडि भने, ‘आफूले गौरव गर्ने एक काम त गरौं ।’
जसपाका सांसद कृष्ण चौधरीले कुकुरको पुच्छर जति ढुंग्रोमा हाले पनि बांगै हुने भन्दै व्यंग्य गरे । ‘जति भने पनि केही हुनेवाला छैन,’ उनले भने, ‘बजेट प्रस्तुत हुनुभन्दा १५ दिनभन्दा अगाडि नीति तथा कार्यक्रम आउनुपर्ने हो, तर अहिलेसम्म कुनै सुरसार छैन ।’ उनले अबको बजेट सन्तुलित बजेट हुनुपर्नेमा जोड दिए ।
बजेट अधिवेशन ढिलो सुरु हुन गएकाले प्रदेश सरकारले बजेट प्रस्तुत हुनुअगावै १५ दिनअघि हुनुपर्ने प्रिबजेट छलफलका लागि अध्यादेश पेस गरेर छलफलको समय व्यवस्था गरेको हो । प्रदेशको बजेट असार १ गते प्रस्तुत हुने कार्यक्रम छ ।
ekantipur
