नगरबासीका लागि कोरोना खोप आफैं खरिद गर्न परशुराम नगरपालिकाले स्वास्थ्य मन्त्रालयसँग माग्यो अनुमति
सुदूरपश्चिमका पहाडी जिल्लामा खाेप खरिद अनुमित माग्ने पहिलाे नगरपालिका
डडेल्धुरा, डडेल्धुराको परशुराम नगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम बढेका कारण नगरबासीलाई यथाशीघ्र खोप लगाउनुपर्ने भएकाले भ्याक्सिन उपलब्ध गराउन संघ सरकारसँग माग गरेको छ ।
परशुरामका नगर प्रमुख (मेयर) भिम बहादुर साउँदले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै खोप उपलब्ध गराउन वा १ लाख खोप खरिदका लागि आवश्यक अनुमति प्रदान गर्न अनुरोध गरेको छ ।
सरकारले तत्काल आफ्नो नगरबासीले खोप उपलब्ध गराउनु पर्ने र नयाँ नगरपालिकालाई खोप खरिदका लागि अनुमति दिनु पर्ने नगर प्रमुख साउँदको भनाई छ ।
कोभिड–१९ विरुद्धको भ्याक्सिन नगरबासीहरूका लागि यथाशीघ्र उपलब्ध गराउनुपर्ने भएकोले नगरबासीहरूको जीवन रक्षाका लागि नेपाल सरकारले निर्धारण गरेको मूल्य र मापदण्ड अनुसार कोरोना भाइरस विरुद्धको भ्याक्सिन उपलब्ध गराइदिन हुन वा भ्याक्सिन खरिदका लागि आवश्यक अनुमति प्रदान गरिदिन अनुरोध गरेको नगर प्रमुख साउँदले बताउनु भयो ।
