पदम जोरा,जोगबुडा
कोरोना संक्रमितहरुको उपचारका लागि सुदूरपश्चिमका सरकारी अस्पतालहरु र सर्वसाधारणका लागि अक्सिजन बैंक मार्फत निशुल्क अक्सिजन उपलब्ध गराउदै आएको ह्युमानिटी फाउण्डेसन नेपालले डडेल्धुराको परशुराम नगरपालिकाका लागि अक्सिजन सिलिण्डर र स्वास्थ्य सुरक्षाका सामग्री पठाएको छ ।
परशुराम नगरपालिका वडा.न १२ का स्थायी वासिन्दा तथा युवा समाजसेबी, निर्माण व्यवसायी लक्ष्मण वहादुर साउँदको पहलमा फाउण्डेसनले परशुराम नगरपालिकाका लागि ५ थान भरिएको अक्सिजनका नयाँ सिलिण्डर, ५ थान बेड, ५ थान पीपीई सेट र २ हजार थान सर्जिकल मास्क पठाएको फाउण्डेसनले जनाएको छ ।
परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँद लाई धनगडीमै उक्त सामग्री हस्तान्तरण गरीएको फाउण्डेसनका अध्यक्ष श्याम टायलले गाउँघरन्यूज लाई जानकारी दिए ।
कोभिड–१९ कोरोना भाईरसको दोस्रो भेरीयन्ट जोखीमपुर्ण रुपमा फैलिएकाले आफ्नो जन्मथलो परशुराम नगरपालिकाका कोही पनि नागरिकहरुलाई अक्सिजनको अभाव नहोस भनी अभियान सञ्चालन गरि उक्त सामग्री खरिद गरि पठाएको निर्माण व्यवसायी लक्ष्मण साउँदले वताए ।
साउँदले भने ‘नागरिको स्वास्थ्य सुरक्षाका लागि सामग्री पठाएको छौं अझै अभियान जारी छ , सहयोगीहरु पनि संगठित हुदैछन ’।
सिलिण्डर र स्वास्थ्य सुरक्षाका सामग्री खरिदका लागि फाउण्डेसनको उक्त अभियानमा शंकर गु्रप, ईन्फिनिटी होल्डिङ्स, हामी नेपाली, हमार फाउण्डेसन, सुदूरपश्चिम समाज डेनमार्क लगायतको साथ रहेको छ ।
उक्त सामग्री बुझ्दै परशुराम नगरपालिकाका नगर–प्रमुख भिम बहादुर साउँदले फाण्डेसनको अभियानका प्रति कृतज्ञता व्यक्त गर्दै धन्यवाद दिएकाछन । छिट्टै उक्त सामग्री जोगबुडा अस्पताललाई प्रदान गरिने समेत मेयर साउँदले वताए ।
