जाँत एक मौलिक संस्कृति


कैलासकुमार पाण्डेय
परशुराम–१२ डडेल्धुरा
देवताको विशेष पुजा तथा दर्शनका लागि उल्लेख्य उपस्थितिमा लाग्ने ठूलो मेला जात्रालाई जातँ भनिन्छ । देवी देवताको पुजा निश्चित तिथि ,दिनमा गरिन्छ । तिथि गणनामा कुनै समय ठिक त्यसै दिन हुन्छ, भने कुनै समय डाडाँगन्तको हिसावले जातँको दिन तय हुन्छ । जात हुने निश्चित दिनलाई हुलो भन्ने गरिन्छ । सामान्यतया पुजा हुलो पर्वमा गर्ने गरिन्छ । कहि देवताका धामीले दिएको दिनमा पुजा लाग्ने गर्छ भने । कहि तिथि शुरु हुदाँ जात हुन्छ, जसलाई लाग्दी र कहि तिथि सकिदा जात हुन्छ जसलाई भाग्दी भनेर भन्ने गरिन्छ।उदयघडिमा पुजाको प्रचलन पनि छ । पुजा हुने तिथि सूर्योदय संगै भएमा त्यसलाई उदयतिथी भनिन्छ । पुजा गर्दा अर्को तिथि हुन सक्छ जसलाई उप्रान्त भन्ने गरिन्छ ।लोक परम्परा अनुसार हुने देवी देवताको पर्व पुजा हो जाँत । लौकिक विधि , रीत, परम्परा अनुरुप बिशिस्ठ पुजा बिधिमा पुजा गरिन्छ । लोक मान्यता,प्रचलित रित परम्परा लाई विशेष जोड दिइन्छ । लोकाचार ,कुलाचार लाई पनि जोड दिइन्छ । लौकिक बिधिमा सम्पन्न हुने देवी देवताको पर्व पुजा जाँत हो । जाँत कुलदेवको पुजा हो, पुजाका लागि गरिने साधना र उपासना हो । साधना उपासना संगै राम रमाइलो गर्ने गरिन्छ । त्यसैले जाँतलाई रामहेर्ने पनि भन्दछन । बर्षमा चार नवरात्रीमा देवीको उपासना गरिन्छ । हरेक देवालय मा नौरता बसेर देवीको उपासना गरिन्छ।चार नवरात्री मध्ये वसन्त ऋतुको र शरदिय नवरात्रीलाई विशेष मानिन्छ । केही देवालयमा त्यसै बेला पनि जात्रा लाग्ने गर्छ। चैत्रको नवरात्री पछि नँया अन्न न्वागी चढाउन बिषुमा पुजा लाग्छ । शरदिय नवरात्री पछि विशेष पुजा लाग्छ । पुरुषार्थ प्राप्ति तथा जन्म, मृत्यु ,जरा त्रिवन्ध बाट मुक्त र देवऋण बाट त्राण पाउन देव पुजन गरिन्छ । मानव मन निकै चञ्चल हुन्छ,मनलाई एकाकार गर्न आत्मशान्तीका लागि सनातन देखि चली आएको देव पुजनको लौकिक पर्व हो जाँत ।
जाँतमा देव दर्शन ,देव प्रतीक देउरो दर्शन ,देवगाथाको प्रदर्सन विभिन्न सास्कृतिक भाव बाट देवकथा, गाथाको चर्चा गरिन्छ । जाँत एउटा लोककृत हो जसमा देव साधना र आराधना गरिन्छ । देव साधना देव पुजा संगै आत्मीय मिलनको केन्द्र पनि हो । जाँतमा आफन्त संग भेटघाट सदभावको साटासाट हुन्छ । जाँतको भाव गहिरो छ।कुलदेवताको पुजा गर्न निकै दिन देखि चोखो बसि करियाले तोकिएका कृत सम्पन्न गर्छन । अन्य मानिस जतेरु भई राम हेर्न आउछन । जाँत दिनमा भए दिसेडी र राती भए रतेडी भन्ने गरिन्छ । जाँत कही दिसेडी हुन्छ ,कहि रतेडि भने कहि रतेडी दिसेडी दुबै पनि हुन्छ । मेला पर्व, उत्सवका रुपमा जाँतलाई पनि लिन सकिन्छ । आपसी सदभावको साटासाट ,भलाकुसारी, भेटघाट गर्ने अवसर पनि हो । जाँतमा हरेकको आ–आफ्नै भूमिका जिम्मेवारी हुन्छन । प्राप्त जिम्मेवारीलाई कुशलता पुर्वक निर्वाह गरिरहेका हुन्छन । पण्डाले गातमा पुजा लगाउने,होम गर्न तोकिएका पण्डितले होम गर्ने , पाठ गर्ने जिम्मेवारी प्राप्त पण्डित बाट पाठ गरिन्छ । निश्चित ठाउँ बाट पुजपोखल (पुजा सामग्री)ल्याइएको हुन्छ । पुजपोखलमा चामल, पीठो, जौ, तील, घ्यू , धुप, दीपका बाती संकलन गरिन्छ । संकलित पुजपोखल बाट पुजा सामग्री तयार गरि आम नागरिकको तर्फ बाट पुजा गरिन्छ ।
जाँतमा पुजाका छुट्टाछुट्टै विधि प्रक्रिया हुन्छन । कहि खीरको नैबेद्य,कहि खिचडीको ,कहि शुद्ध चावल भने कहि चावलमा मेवा मिष्टान,दूध ,घीउ मिसाएर पुजा लगाईन्छ । केही स्थानमा वलि मार्फत रगत, मासु संगै अन्नहरुको पुजा लगाईन्छ । वलि चढाउदा बोका,रागा,कुखुरा ,हासको प्रयोग गरिन्छ । कुनै मन्दिरमा राती,कुनैमा दिउँसो,कहि तिथि शुरु हुदा,कहि तिथि सकिने समयमा पुजा लागाउने गरिन्छ । वली पनि विभिन्न किसिमका गरिन्छन । कालोबोका(कल्पठ्ठे),सेतोबोका सेतपठ्ठे
,सस्याकरो, माईत्या, गौड्या,बटुल्या, आदि नाम दिईएका हुन्छन। वलीलाई न्यूनीकरण गर्न वैकल्पीक रुपमा नारीवल फलफुललाई प्रतिक वनाई वली दिने प्रचलन पनि रहेको छ ।
देउरो
जाँतको मुख्य आकर्षक देउरो हो । सामान्यतया देव पुजका सामग्री वीर योद्धाका आयुध जो देवता तथा देव गणले प्रयोग मा ल्याउथे ती सबै देव सामग्री (भाणिकुणी),धाजा नेजा, बाजा गाजा सहित जय–जयकार गर्दै देउता धामीले नेतृत्व लिएर भडारघर बाट देवालय पु¥याउने झाकी हो देउरो । शिवालयका देउरामा गाज पनि हुन्छन । गाज लाई चल मन्दिर पनि भनिन्छ । मोटो रातो कपडा बाट मन्दिर कै स्वरुपमा बनाइएको हुन्छ । टुप्पोमा गजुर बिचमा लट्टोले टेक्ने र किनार मा तुना तान्न मिल्ने गरि मन्दिर जस्तै हुने गरि गाज बनाइएको हुन्छ । निश्चित स्थान बाट गाज फिजाइन्छ । गाज भित्रै बहुमुल्य रत्न सहित देवताका भाणिकुणी राख्ने गरिन्छ । देउराको महत्वपूर्ण भूमिका अगेवानी धामीले निर्वाह गरेको हुन्छन । विभिन्न ताल र सुरमा बाजा बजाई धामी आफ्नो शक्ति बढाउछन । प्राप्त शक्तिको बलमा बरदान पनि दिन्छन । शिलालाई अवोल देवता मानिन्छ भने धामीलाई शिलाको बोल स्वरुप मान्दछन । शिवालयको प्रवक्ताको भूमिका निर्वाह देवगण हरुले गरेका हुन्छन । देवगणमा अधिकांश बरदानौ रहेका हुन्छन ।
गाउँका सबै मनिस भणार देउघरमा जम्मा हुन्छन । वाजा बजाउने हरुले विभिन्न प्रकार वाजा बजाउने ,जिम्मेवारी तोकिए अनुसारका कार्य गर्नेले आ–आफ्नो भूमिका निर्वाह गर्छन । गाज संगै डोला पनि हुन्छ, त्यस्तै छाँता (छत्र) चामर र अन्य आयुधहरु बोकि अगेवानी धामीको अनुमतिमा देउरो अगाडि बढ्छ । जात्रा हुने देवालयमा देउरो पुग्छ । भिन्न–भिन्न बस्ती बाट अलग अलग देउरा ल्याईन्छन । एउटा जेठो देउरो मानिन्छ । जेठो देउरोले बाकी देउराको स्वागत गर्छन जसलाई देउरो पर्छने भनिन्छ । देउरा संगै चौलो पनि हुन्छन । कुनै जातमा चौलो मात्र हुन्छ भने कुनै जात्रमा चौलोमा–चौलो मिलाएर देउरो बनाइन्छ । भोक्कर, बिगुल, तरवार, छडी, सुनजनै ,सुन चाँदी हिरा मोती बहुमुल्य रत्न पनि देउरामा लगिएको हुन्छ । आयुध बहुमुल्य रत्न,गाज ,डोला आदि दर्शनलाई देउरो दर्शन भनिन्छ । देउराको दर्शन संगै फाग मंगल गाउदै अक्षता फूल बाट पुजा पनि गरिन्छ । देउरो ,चौलोमा देवता को जयजयकार गरिएको हुन्छ । चौलो थरी–थरीका हुन्छ्न । कहि मेला अवधि चौलोको नै महत्व रहेको हुन्छ भने कहि रोचक झलकका रुपमा चौलो देखाइन्छ । कहि चौलो देउरोमा समाबेश भएर जान्छन । देवीको देउरोमा छुट्टै किसीमको गाज देबीको रुपमा सिगारीएर प्रदर्सन गरीन्छ । भणार वाट देउरो लगेर मन्दीर पुग्दा सम्म गाज नचाएर , गौदान , अवसेक संगै शिवालय दर्शन गर्दछन ।
पुजा
जाँतको बाहिरी चहल–पहल संगै देव पुजन पनि मुख्य हो । मन्दिर परिसरमा प्रबेस संगै जल, धुप, दीप, ऋतुफल फूल आदि चढाएर दर्शन गर्दछन । टिकैतीले पुजा ब्यवस्थापन गर्दछन । पुजपोखल जम्मा गरिन्छ ।गणेश ,कलस पुजन गरि पुजा प्रक्रिया अगाडि बढाईन्छ । जिम्मेवारी तोकिएको हुन्छ । अलिखित नियम वनाइएको हुन्छ । आ–आफ्नो जिम्मेवारी अनुरुप को भूमिका निर्वाह गरेका हुन्छन । पण्डाले गातमा पुजा लगाउछन । होम गर्ने ब्राह्मणले बाईसखाम मा होम गर्दछन । होम गर्दै गर्दा देवतामा चढाउन ल्याएका सामग्री चढाउन अभिषेक गरिन्छ ।गाईको गौदान गरिन्छ । गाई खाम बाध्नेले बाईस खाममा बाधेर चढाएका हुन्छन । त्यो संगै बिशिष्ठ पुजा विधि तथा लौकिक मान्यता रीत परम्परा अनुसार पुजा गरिन्छ । गातमा पुजा सकिए संगै पुर्णाहुती गरिन्छ । पुर्णाहुती गर्दा तेलियालाई तेल,कालाखामलाई तीलक लगाउदै पुष्पाञ्जली गर्दै पुजा प्रक्रिया पूरा गरिन्छ । मन्दिर भित्र पुजा चलिरहदा जतेरुहरु देउडा खेल्ने गर्छन भने बुढापाका महिला हरु फाग गाईरहेका हुन्छन।पुर्णाहुती गर्दागर्दै धामी कामेर देव वाणी स्वरुप बरदान(भाव) दिन्छन । बिबिध पाठ गर्ने गरिन्छ । शान्तिकाध्याय, रुद्री, चण्डी पाठ गराइन्छ । रुद्राभिषेक गर्ने गरिन्छ । सत्यनारायणको पुजा,कथा पाठ गर्ने गरिन्छ ।
देउडा,फाँग
जाँत देव पुजन संगै मनोरञ्जन राम रमाइलो पनि हो । रमाइलो मनोरञ्जनका लागि देउडा खेल्दछन । डोटेली समाजको बिशिष्ट संस्कृति हो देउडा (दिउणी) देउडामा दोहोरी चल्छ । रातभर पनि खेल्ने गरिन्छ । विभिन्न बस्ती–बस्ती बाट आएका जतेरुले गीतमा नयाँ भाखा ल्याइएका हुन्छन । देउडा महिला, पुरुष छुट्टा–छुट्टै खेल्छन । जातमा महिलाहरु सामुहिक रूपमा फाँग गाउछन । फाँग देवार्चना भक्ती भाव देवगाथा, वीर गाथालाई लयात्मक रुपमा गाईन्छ । उगाड उगाड गोसाई सुनैका केवाड , सगुन दे सरस्वती लगन दे बृहस्पति, जस्ता फाँग सामुहिक रुपमा गाईन्छन । फाँग लौकिक देवस्तुति पनि हुन । फागहरु निकै मौलिक मानिन्छन । जाँतमा विभिन्न सास्कृतिक कार्यक्रम पनि गरिन्छन । भजन किर्तन पनि गरिएका हुन्छन । जाँत एक किसिमको मेला पनि हो । मेलाका हरेक गतिविधि जाँतमा गरिएका हुन्छन।
भेटघाट र सदभाव
जाँतलाई टाढा–टाढा वस्ने आफन्त संग भेटको अवसरको रुपमा पनि मान्दछन । कुलदेवताको पुजामा आएका आफन्तको बृहत जमघट हुन्छ । भेटघाट संगै सदभावको साटासाट पनि हुन्छ । बर्षौ भेट नभएका आफन्त संग जातमा भेट हुन्छ । स्नेह ममता बढदै अपनत्वको भाव सृजना हुन्छ । मनमा भएका बिकार लाई त्यागी देवपुजामा समर्पित भएर आउने भएकाले कहि केही भएका वैमनस्यता समाप्त भई नयाँ सद्भावको बिकास भएको पाईन्छ । सामुहिक खानपिन , घरमा तयार गरिएका परम्परागत परिकार एकआपसमा साटा–साट गरिनुले सद्भाव मा नयाँ पन थपिन्छ । प्रत्येक जाँतको आफ्नो छुट्टै बिशेषता हुन्छ ।स्थानीय उत्पादनलाई सौगातका रुपमा आफन्तलाई उपहार दिने गरिन्छ आल र करिया
शिवालयको शिरोभाग र पदोभागको चर्चा पाईन्छ । शिखर पहाडलाई शिरो तथा त्यसैको तल्लो तट क्षेत्रमा पद्भाग मानिन्छ । शिर देखि पाउ सम्म रहेको क्षेत्रलाई देवताको आल भन्ने गरिन्छ । आल भरिका वासिन्दाले पुजा सामग्री जाँतमा लैजानु पर्छ । पाँच मुट्ठी चामल ,एक मानो ध्यू जसलाई पोखल र जौ, तील, धुप, दीप, फूलपाती, जनै, ऋतुफल आदिलाई पुज्य सामग्री गरि पुजपोखल लगिन्छ । कुनै देवालयको क्षेत्र सिमित हुन्छ भने कसैको बिस्तृत हुन्छ । बिस्तृत क्षेत्र रहेका देवालयका गाउँ तोकिएका हुन्छन । जस्तै भागेश्वरका लागि बाईस फाट कुमाउ,सोलै सय डोटी , सोल सय सोराडकी सिक उठाउने गरिन्छ । देवताको आललाई बिशेष महत्व दिईन्छ । आलमा सम्बन्धित देवताको नाम बाट देव कार्य गरिन्छ । सो को आलमा बस्नेहरु आफुलाई देवताको तेलिया भन्ने गर्दछन । पालिने बस्तु भाउलाई देवता संगै जोडिन्छ । जसलाई केर भन्ने गरिन्छ । आफ्नो कुलदेवताको केरको गाईहरु मात्र पाल्ने गरिन्छ । आलमा बस्नेहरू नै करिया पनि हुन्छन । देवताको पुजाको विभिन्न भूमिका रहि कार्य गर्ने ब्यक्ति लाई करिया भन्ने गरिन्छ । पण्डा , पुजारी, धामी ,भडरिया, टिकैती, आदि महत्वपूर्ण करिया हुन्छन भने केही आंशिक रुपमा काम गर्ने करिया भनिन्छ । मुल करियामा सुतक हुन गए पुजा रोकिन पनि सक्छ । ठुला देवालयमा बैकल्पिक करिया तोकेका हुन्छन । मुल करिया अनुपस्थित रहे बैकल्पिक बाट पुजा गराईन्छ । कुनै ठाउँ बैकल्पिकले पुजा लगाउने पद्धतिलाई पातली पुजा पनि भनिन्छ । रीत परम्परा अनुसार हरेकले आफ्नो जिम्मेवारी को कार्य गर्दछन । जिम्मेवारी तोकिएको कार्य गर्नेलाई नै करिया भनिएको हुन्छ । करिया पुजा गर्ने मात्र होइन अन्य कार्यको जिम्मेवारी करियालाई तोकिएको हुन्छ । वाजा बजाउने पनि फरक–फरक भूमिकामा रहेका हुन्छन । ढोल बजाउने ढोली,दमाह बजाउने दमाई, भेरी बजाउने भेरीकार , आदि भनिन्छ । बाजाका अनेक ताल हुन्छन बडाई ,धेउल, घाई, नवदी, भडाउको तालमा बजाईन्छन । बिगुल, भोक्कर, रुइसिङ आदि पनि बजाइन्छन । देमाणौका दाइन दमाउ वडाल भोक्कर भनी निकै प्रचलित छन । डोल्याले डोली बोक्दछन । आल भरिका बासिन्दाको देवता पुजा गर्न जानु अनिवार्य हुन्छ भने अरु मानिस राम हेर्न जाने गर्दछन।
धामी
जाँतमा धामीको निकै महत्वर्पुण भुमीका रहेकोे हुन्छ । धामीहरुलाई वरदानौ र स्थानीय गरि छुट्याइएको हुन्छ । दानौहरु कुरुक्षेत्रको युद्धमा मारिएका महारथीहरु जसले स्वर्ग जान नपाएकालाई शिवालयका अगेवानी भई पुजनिय हुने वर पाएका थिए । तीनै भगवान कृष्ण बाट वर पाएका वरदानौ पुजनिय शिव गण भएका छन । तीनै वर दानौ शिवालयका द्वारपाल , अगेवानी भएका छन । वरदानौको रुपमा शिलाको तर्फबाट बोल देवताका रुपमा वरदानौका धामी रहेका हुन्छन । अन्य धामी, पिजासका धामीहरु दानौलाई गुरु भन्दछन । जाँतमा धामीको भूमिका निकै महत्वपूर्ण हुन्छ । बोल देवता भनी भन्दछन । देवस्थलमा भएका शिलाको प्रवक्ताका रुपमा धामीलाई लिइएको हुन्छ।धामीहरु बाजाको तालमा नाच लगाउछन । रीत बताउने,रीत अनुसार चलाउने ,कहि केही अप्ठ्यारो भए समाधान गर्ने कार्य धामीले गर्दछन । जसलाई पञ्जनी भनिन्छ । जातमा मात्र होइन खली, जागर, देउपुछाईमा पनि धामीको नै काम हुन्छ ।
भणार (भण्डार)
देवताका सवै किसिमका सामग्री राखिने घरलाई भणर (भण्डार) भनिन्छ । भण्डारमा मन्दिरमा चढाईएका सबै सामग्री सुरक्षीत राखिन्छन ।भण्डार घरलाई देउँघर पनि भन्दछन । देउँघर बाट देउरो निकालिन्छ । भण्डारमा बहुमुल्य रत्न पनि राखिन्छन । बहुमुल्य सामग्री राखिने वाकसलाई प्याउलो भनिन्छ । देवता आयुधहरु, निसान , बाजासामग्री, गाँज डोला आदि सामग्री सुरक्षित राखिन्छन । भण्डारको जिम्मा पाएका ब्यक्ति लाई भणारी भनिन्छ ।
जात्रा सबै तिर हुन्छन । पर्व, मेला,जात्राहरु हरेक ठाउँमा हुन्छन । तर जात्रा प्रकृति कै जाँत सुदुरपश्चिम प्रदेशको मौलिक संस्कृति पनि हो । उत्सव, पर्व, जात्रा, मेलामा जस्तै जाँतमा स्थानीय उत्पादनको बजार पनि लाग्दछ । जाँतको छुट्टै पहिचान रहेको छ, अती नै मौलिकता रहेको पाईन्छ ।
(पंतिकार संस्कृतिविद हुन )

bb

Leave A Reply

Your email address will not be published.