दसैं भत्ता फिर्ता गर्न देउवाको निर्देशन

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सांसदहरूलाई दिएको दसैं भत्ता फिर्ता गराउन र कोरोना संक्रमितको निशुल्क उपचार गर्नका लागि सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्नो दलका सबै सांसदहरूलाई दसैं भत्ताबापत आएको रकम फिर्ता गर्न पनि निर्देशन दिएका छन् ।

सभापति देउवाले सोमबार बिहान संसदीय दलका पदाधिकारीसँग छलफल गरेर सबै सांसदहरूलाई कुन प्रक्रियाद्वारा हुन्छ दसैं भत्ता फिर्ता गर्नका लागि निर्देशन दिएका हुन् । संसदीय दलमा परामर्श गरेर दसैं भत्ताबापत प्राप्त रकम फिर्ता गर्नका लागि सभापति तथा संसदीय दलका नेताले संसदीय दलका पदाधिकारीसँग छलफल गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माको प्रश्न : महामारीमा उपचार नगर्ने भए किन चाहियो सरकार ?

कांग्रेसले कोरोना संक्रमितको निशुल्क उपचार गर्न पनि सरकारसँग माग गरेको छ । महामारीको बेलामा नै जनतालाई सरकार आवश्यक पर्ने भन्दै संक्रमित आफैंले उपचार गर्नुपर्ने भन्ने सरकारको निर्णय फिर्ता गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।

कांग्रेसका प्रवक्ता शर्माले विज्ञप्ति जारी गरेर सरकारलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेका छन् । सरकार कोरोना परीक्षण र उपचारको दायित्वबाट पन्छिन खोजेर गैह्रजिम्मेवार बनेको कांग्रेसको भनाइ छ ।

‘सर्वोच्च अदालतले संक्रमितको निःशुल्क उपचारको प्रबन्ध गराउन भनी दिएको आदेशसमेत पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘कोरोनाले जनताको आर्थिक जीवनमा पारेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको हो । संक्रामक रोग उपचारको कानुनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन,’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतले केही अघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ ।’

कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसनहरू तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभरको कालोबजारी, अव्यवस्थित क्वारेन्टाइन र शव व्यवस्थापनमा लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिन्ह’ खडा गरिसकेको कांग्रेसको भनाइ छ। सरकारका पछिल्ला निर्णयले मुलुकमा सरकार छ भन्ने कुरामाथि प्रश्न उठन् लागेको शर्माको विज्ञप्तिमा उल्लेख छ ।

सांसद विकास कोषको रकम, सांसदहरूलाई दसैं भत्ता दिने रकम लगायतका अनावश्यक खर्च कटौती गरेर कोरोना परीक्षण र निशुल्क उपचार गर्नक लागि कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ ।

bb

Leave A Reply

Your email address will not be published.