डडेल्धुरा : सुदूरपश्चिमकै पवित्र तीर्थस्थल परशुराम धाम डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँमा अवस्थित छ। श्यामा (महाकाली) र एला (रंगुन) नदीको संगममा रहेको यस तीर्थमा भृगुवंशी महर्षि जगदग्नि र रेणुका पुत्र परशुरामले तपस्या गरेको विभिन्न पुराणहरुमा वर्णन गरिएको छ।
एला र श्यामाको संगममा जगदग्नि पुत्र परशुरामको आश्रय रहेको स्कन्दपुराणमा उल्लेख गरिएको छ।
हैयेय वंशी क्षत्रीहरुले पिता जगदग्निको हत्या गरी कामधेनु गार्य अपहरण गरेको र आततायी क्षत्रीयहरुको अत्याचार कम गर्न क्षत्रीय विनास गरेको २१ पटक पृथ्वीलाई क्षत्रीविहीन गरेपछि सरयूश्यामा नदीमा स्नान गरेको पुराणमा उल्लेख छ।
डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित महाकाली नदी किनारको रंगुन र पुन्तोरा नदी किनारमा अवस्थित छ– परशुराम धाम ।
डडेल्धुरा सदरमुकामदेखि १०० किलोमिटर दूरीमा रहेको यो धाम छिमेकी कञ्चनपुर जिल्लाको दैजी सडकखण्डबाट भने दुई घण्टा (३९ किलोमिटर) यात्रामै पुग्न सकिन्छ ।
त्रेतायुगमा विष्णुको छैटौं अवतारको रुपमा परशुरामले हैहयवंशी क्षेत्रीहरूको २१ पटकसम्म संहारपछि यस क्षेत्रमा आएर तपस्या गर्दै यज्ञ गरेको स्कन्दपुराणमा उल्लेख छ । यसका अतिरिक्त सतीदेवीको पूर्ण अंग पतन भइसकेपछि भगवान शिव यही धाममा आएर तपस्या गरेको पनि बताइन्छ । धर्मराज युधिष्ठिरले यज्ञ सहित द्वार समेत निर्माण गरेको जनविश्वास पनि छ ।
धार्मिक महत्वका दृष्टिले यतिविधि धनी परशुराम धाम भौतिक पूर्वाधारमा भने गरीब नै छ । तर पनि श्रद्धालुहरूको आकर्षक गन्तव्य भने बनिरहेकै छ । खासगरी माघेसंक्रान्तिको वेला यहाँ ठूलो मेला लाग्छ । यो वेला डडेल्धुरा, डोटी लगायतका २२ द्यौरा (देवता) लाई स्नान गराउन यहाँ ल्याउने चलन पनि छ ।
युधिष्ठिरले बनाएको भनिएको धर्मद्वार । यो द्वार पार गर्ने मानिस धार्मिक हुने विश्वास छ ।
करीब ८५ बिघा क्षेत्रफलमा फैलिएको परशुराम धाम क्षेत्रमा परशुरामकी आमा रेणुकाको मन्दिर, धर्मद्वार, सत्ययुगदेखि रहेको बताइने वर–पीपलको रुख समेत देख्न पाइन्छ । साथै, परशुराम स्नानघाट र भागेश्वर घाट पनि छन् । जनमानसमा भगवानको पुण्यभूमि यो धाम अर्को पुस्तासम्म यस्तै नरहला कि भन्ने डर बुढापाकामा छ ।
