भागेश्वर देवताको महिमा

भागेश्वर देवताको महिमा

कैलाश कुमार पाण्डेय परशुराम ३ डडेल्धुरा

वैदिक सनातन हिन्दुधर्ममा देवताका विभिन्न अवतार, स्वरुपको चर्चा गरिएको हुन्छ । धार्मिक ग्रन्थहरुमा अवतारको वर्णन गरिएको हुन्छ । अवतारको अर्थ अवतरण संग जोडिएको हुन्छ । अवतरण माथीबाट तल ओर्लनु भन्ने अर्थ लाग्छ । देवता माथी आकाशमा रहन्छन । आवश्यकता ,समय, परिस्थिति अनुसार पृथ्वीमा अवतरण गर्छन वा अवतार लिन्छन भन्ने मान्यता रहि आएको छ । वेदमा उल्लेख गरिए अनुसार सबै भन्दा बढी अवतार ईन्द्रका भनिएको छ । पुराणहरुमा भगवान बिष्णु का चौबीस अवतार को बर्णन पाइन्छ । मुख्य रूपमा दस अवतारको बढी चर्चा र वर्णन पाइन्छ । भगवान शिवका पनि सयौ अवतार तथा स्वरुपको उल्लेख पाईन्छ । अधिकांश देवताका सहस्रनाम बाट स्मरण गरिन्छ । शिवजीका द्वादश ज्योतिलिङ्गको धेरै महत्व रहेकोछ । शिवजीको अधिकांश शिवलिङ्गको पुजा गरिन्छ । शिवका विविध स्वरुपको उल्लेख तथा चर्चा पाइन्छ ।जे–जस्तो स्वरुप मा भनिए पनि देवाधिदेव महादेवलाई मानिन्छ।विभिन्न स्थान फरक फरक नाम बाट प्रसस्ती पाएको हुन्छ । काशीमा बिश्वनाथ, उज्जैनमा महंकाल, नर्मदातटमा ममलेश्वर, सौराष्टमा सोमनाथ, काठमाडौमा पशुपतिनाथ, अछाममा बैद्यनाथ,डडेल्धुरामा भागेश्वर नामले शिव स्वरुपको स्मरण पुजा गर्ने गरिन्छ । मानसखण्डलाई देव भूमि भनिएको छ।चौरासी हजार तीर्थ यस खण्डमा रहेका छन । ती मध्ये अधिकांश शिवजी संग संबंधित रहेका छन । बिष्णु अवतार भएका तीर्थमा पनि शिवजीको सानिध्यता जोडेको पाइन्छ । मानसखण्डका हजारौं तीर्थहरु मध्ये परशुराम तीर्थको निकै ठुलो महिमा र महत्व रहेको पाइन्छ।मानसखण्डको शिर मानसरोवर शिवको निवासस्थान नै हो । मानसरोवर बाट उत्पन्न नदीहरु मानसखण्डमा निरन्तर प्रवाहित छन । कैलास मानसरोवर संग जोडिएको यो क्षेत्रलाई ठूलो शैव क्षेत्रका रुपमा लिइन्छ । यस क्षेत्रमा सोल शिवालयको निकै चर्चा छ । सोल शिवालयमा सबै भन्दा बढी चर्चा , महत्व र स्थान भागेश्वरको रहि आएको छ।
सोल शिवालयमा भागेश्वर, खिटकेश्वर, असिग्राम, महादेव , जगन्नाथ ,मल्लिकार्जुन,केदार ,सिगास, बैद्यनाथ आदिको बर्णन पाइन्छ । आआफ्नो स्थानमा सबैको छुट्टा–छुट्टै महिमा प्रसस्ती भुमीका रहेको हुन्छ । केहि भुमिकामा भागेश्वरको स्थान पृथक पाइन्छ । सोलैशिवालय संग भागेश्वरको सानिध्यता र सम्बन्ध रहेको पाइन्छ । सोलशिवालय का देउरा ल्याइ मिलन गर्ने मुक्य स्थान परशुरामतीर्थ हो।सोल शिवालय मध्ये भागेश्वरको छुट्टै पहिचान ,स्थान र भुमिका रहेको छ।
भागेश्वर भग र ईश्वर मिलेर बनेको शव्द हो । शास्त्रमा षट भगको उल्लेख पाईन्छ । भगेश्वर बाटै भागेश्वर भनिएको हुन सक्छ । स्कन्दपुराणले पनि यसरी पुष्ट्याउछ।
भगेश्वरं महादेवं स्फटिकाभां प्रपुजयेत।
भार्गवद्वारा पुजित भार्गवेश्वर बाट भागेश्वर भएको भन्ने पनि मान्यता रहेकोे छ । त्यस्तै हलिया कि हाक,मडा कि डाकँ नसुन्ने भएकाले मानव बस्ती बाट भागेर गएकाले भागेर गएका ईश्वर भागेश्वर भनिएको हो भन्ने पनि गरिन्छ । शिवजी कुर्माञ्चलको कुमाउ मा बागेश्वर स्वरुपमा निवास गर्नु हुन्थ्यो । लंका युद्ध मा कुम्भकर्ण मारिदा उसले पाएको वरले कुम्भकर्णको शिर लंकामा नखसी हनुमानको गदाको बेगबाट बागेश्वर थान रहेको स्थानमा पुग्ने भयो । कुम्भकर्णको गण्डस्थलले बागेश्वर घाँटी पुरिएर तलाउ बन्यो र बागेश्वर क्षेत्र तलाउ बन्दा त्यहाँ निवासित बागेश्वर धुन्धु पर्वतमा भागेश्वर स्वरुप शिला भए भन्ने मान्यता छ । भागेश्वरको पादुर्भाव, दर्शन ,पुजा प्रक्रियाका बिषयमा विभिन्न मान्यता रहि आएका छन । परापुर्व कालमा चुडागाडमा भागेश्वरको पुजा गरिन्थ्यो । कुरुक्षेत्रको युद्ध पछि शिवालय संगै वरदानौको पनि पुजा हुने भयो । कुरुक्षेत्रको युद्धमा सत्यको पक्षमा लडदा मारिएका दानौ हरुलाई भगवान कृष्ण बाट शिवालय संगै पुजनिय हुने वर पाएका वरदानौलाई पुजनिय बनाइयो र जिम्मेवारी, भुमिका पनि दिइएको थियो ।
ग्वान्नी नङँरमा भट्टहरुको प्रबेस सगै वर दानौ कालिसैन पनि साथमा ल्याईएका थिए।त्यस पुर्व चुडागाडमा भागेश्वरको पुजा हुन्थो । चुडागाडमा भागेश्वरको दर्शन गर्न पुगेका कालिसैनले भागेश्वरलाई गाडको तलाउमा क्रीडा गरिरहेका नागका रुपामा दर्शन पाए।यथोचित स्तुति, बन्दना ,पुजा, अर्चना संगै साक्षातकार भयो । भागेश्वरलाई आफू संगै जान कालिसैनले अनुनय बिनय गरे।दुवैले अंकमाल गरे ।अंकमाल हुदाँ दुई नाग देखिए । अंकमाल संगै जोडिएका नाग मध्ये एउटा नाग कालिसैन संगै नङरमा शिला बन्यो भने अर्को नाग शिखर धुरामा शिला बन्यो । ऋषि ,महर्षी, यक्ष, गन्धर्व ,योगिनी ,देवतागणहरु बाट पुजनिय भागेश्वरको नागरिक स्तरमा पुजा अर्चना हुन लाग्यो । नङँरमा केही समय पुजा पाण्डेबाट लगाइएको थियो।रीती स्थिती बसाइयो ब्यवस्थापनको जिम्मेवारी रुपाली जोशीले पाए पछि बिशिस्ट पुजा विधि बाट प्रतिष्ठित पण्डितहरु बाट गराईएको थियो।
चुडागाडमा चुडेस नाम बाट भागेश्वरको पुजा अर्चना गरिन्छ । चुडागाडमा ज्योतिर्लिङ्ग रहेको छ।चुडागाड बाट बिभक्त स्वरुप ज्योतिर्मय रहेका छन । स्फटिकको शिवलिङ्ग रहेको स्कन्द पुराणमा उल्लेख छ । भागेश्वरको महिमा व्यापक छ।देवतामा भागेश्वरलाई ठूलो देवताका रुपमा मान्दछ्न ।
भागेश्वर र कैलु ः
ग्वान्नी किरोडमा बोहराहरुको बस्ती थियो । बोहराका सैयौ गाइ थिए । गाइको मुख्य चरी चरन धुन्धु पहाड धुरा थियो । उमल्लेकको साउन गाई ग्वालो थियो । सयौ मध्ये एक गाइको नाउ कैलु थियो । कैलु गाइले धुरामा भागेश्वरको दर्शन पाइन। भागेश्वर भगवान संग साक्षातकार भयो । गाइले प्रत्येक दिन भागेश्वरलाई दूध दिने भईन । धुरा पुग्ने बितिक्कै दूध शिवलिङ्गमा चढाइन्थ्यो । गाइ मालिक्नीलाई शंका लाग्यो बिहान दूध दिने गाईको साझ दूध किन दिदैन । गाइ दुहुन जादा थन खाली देखिन्थे । मालिक्नीले ग्वालालाई गाली गरिन । गाइले भगवानलाई दूध चढाउने क्रम निरन्तर चल्यो । दूध चढाउदा अरु गाई बस्तु फर्की सकेका थिए।कैलु एक्लै भइन । एक्लै गाई देखेर बाटोमा बाघ बास्यो । कैलु गाइ आउदा झम्ट्यो।कैलुले चीत्कार गरिन । कैलको चीत्कार सुनी स्वयं शिवजी आएर बाघको नाङ्ग्रा टुटाई घाँटी बाङ्गो पारी दिए।
गाइको जस्तो सुकै विषम अवस्था आए पनि दूध दिने क्रम चल्दै गयो । मालिक्नीले अति गरे पछि ग्वालोले चियो गर्न लाग्यो । गाइको पछि पछि जादा अनौठो दृष्य देख्यो।गाइका दुई खुट्टा अगाडि दुई खुट्टा पछाडि बिचमा शिवलिङ्ग जहाँ दुधको धार शिवजटामा गंङ्गा झरेको समान देखे । एक छिन स्तभ्द भए।मालिक्नीको गालि सम्झी रिस उठ्यो।हातमा बोकेकी कोथलाआसि (हसिया) ले शिवलिङ्गमा प्रहार गरे । हसिया प्रहार हुदा रगतको भेल बग्न लाग्यो । रगत बग्दै गयो।
धुरा भन्दा धेरै तल रुपाल बस्ती छ । त्यहा ब्राह्मणको बसोबाँस थियो।दुई भाइ ब्राह्मण गुणाकर र कमलाकर नित्य स्नानका लागि रुद्राबतीमा गएका थिए । स्नान गरि सूर्य अर्घ दिन लाग्दा अञ्जुलीमा रगत देखियो । दुबै भाइहरुमा छलफल भयो ।ठूलो युद्ध भएको अनुमान लगाए गर्खा तिर लडाइँ झगडा भइ रहन्थो।त्यै लडाइको अनुमान लगाए । देउवा–बोकटी, भट्ट–कठायत, जोशी–उप्रेती ,पन्त –पनेरु, साउन–भण्डारीका बिच लडाइ भएको अनुमान गरे । गुणाकरले कुरा गरेर हुदैन खोजी जानु प¥यो भनी नदी तिरैतिर लागे। कमलाकरले भने भात खाएर जाने निधो गरे। जोशी थर रहेका गुणाकर जोशी नै रहे भने भात खाएर गएकाले कमलाकर भाट भए ।
जोशी बन्धु जाँदै गर्दा धुराधाममा शिवलिङ्ग बाट निरन्तर रगतको भेल बगिरहेको थियो । गुणाकर जोशीले अनेक बिन्ती भाउ लगाए। भाकल गरे ‘रैजा बुवा भागेश्वर तेरि साक भाक’
।सिराडका पुजारा बाट पुजा गराउने, धामीगाउ चटौत बाट होम गराउने,जजोला का सालको बाइसखाम बनाउने, आदि भाकल गरे अनेक प्रकारका अनुनय बिनय गर्दा पनि रगत बग्न नरोकिए आफ्नो कान्छी औंला काटी घाउमा रगत हाल्दा रगतको भेल रोकियो।गुणाकर जोशीले भगवान भागेश्वरको दर्शन पाए। भागेश्वरको प्रत्यक्ष दर्शन पाई धन्य भए। सबै पञ्जनीको जिम्मा पाए। पुजाको प्रवन्ध मिलाए। बाइस फाट कुमाउ,सोल सय डोटी ,सोलै सय सोराड, आदि स्थान बाट पुज पोखल पुज्य सामग्री ल्याउने ब्यवस्था गरियो ।
कमलाकर र गुणाकरले रगत देखेको ठाउँ रतीघाट नामले जानिन्छ । त्यही भागेश्वरको शिवलिङ्ग स्थापना गरि पुजा गर्ने गरिन्छ । रुपालको देउरो बनेको को छ।रुपाल बाट धुरा शिर र नीर परशुराम देउरो जान्छ ।
भागेश्वर र नागी मल्ल
मध्यकालमा डोटीको रितिस्थिती बसाउने राजाका रुपमा रहेका राजा नागी मल्लको भागेश्वर संग विभिन्न बिषयमा बिबाद भएको धमारी, चैत, किम्बदन्तीमा उल्लेख गरेको पाइन्छ । नागी मल्लका पुर्वजको चाइकोटमा कोट रहेको थियो । एक समयमा युवराजलाई नयाँ कोट बनाउने इच्छा लाग्यो । ग्वान्नीको नङरमा कोट बनाउन लाग्नु भयो । युवराजलाई सपनामा आएर भगेश्वर यो क्षेत्रमा कोट नबनाउ भनेका थिए।अटेर गरि कोट निर्माण गर्न लागे । घुडा सम्म साझ बनाउने बिहान आउदा भुमी बराबरको हुन जान्थ्यो । ज्यामीको संख्या बढाइ कम्मर बराबर निर्माण गरियो तर बिहान आउदा भत्केर माटो मात्र रहेको थियो । राजकुमार रिसले आगो भए भागेश्वर को गात(शिवलिङ्ग)उखेलेर फाल्न भनी गए । गात उखेल्नै लाग्दा जति तान्यो तानिदै जाने नाग स्वरुप देखे । त्यही नाग स्वरुप भागेश्वरको दर्शन पाउने राजकुमार नागी मल्लले चिनिने भए । राज कुमारले त्यही प्रतिज्ञा गरे ग्वान्नी क्षेत्रमा कुनै ठकुरी आउने छैन । घोडा ल्याइने छैन । भागेश्वरको रीतपुर्वक पुजा प्रबन्ध मिलाइयो । चाइकोट छाडी राजपरिवारका सबै सदस्य रातारत अजय पालले निर्माण गरेको अजयमेरुकोटमा गए कालान्तर मा नागी मल्ल त्यहिको राजा भए ।
एक समयको कुरा हो रुपाली जोशी भागेश्वरका मुख्य पञ्जनी कर्ता भए पछि राजपुजाका लागि अजयमेरुकोट पुगे । राजा नागी मल्ललाई राजपुजा का लागि अनुरोध गर्दा मै ठूलो ठाकुर नागी मल्ल तै नानो देवता भागेश्वर भनी राजपुजा दिन नसकिने बताए । गुणाकर जोशीले अनुनय बिनय गरे धेरै अनुरोध गरे केही सिप लागेन । गुणाकर जोशी रोल्लीमा बाँस बसे अजयमेरुकोटमा अनिष्ट भयो । कोटकाणो हिलि गयो । बिना बादल असिना बर्से , सन्त्रास छायो । भागेश्वर देवता का प्रभावले यस्तो भएको राजाले महसुस गरे भाकल गर्न लागे । सिराडी पुजारा बाट पुजा लगाइने,डुङरी चटौत बाट होम गराउने, जजोलाका सालको बाईस खाम बनाउने तुसारी का पात्थरले बाइसखाम छाउने,आदि बोल बिन्ती लगाए गुणाकर जोशीलाई बोलाइ राजपुजाको प्रबन्ध गरियो।
एक समय नागी मल्लकी रानी मौलाले डोटीमा घटालको पुजा शुरु गराइन । कुनै समय हटगाउँकी सात्विक स्वाधी बुढी का कारणले घटालको शिला बगेको थियो। मौलाको माइली देव पनि घटाल भएका र पाण्डेको घट्टको शिलामा घटालको बाँस भएको थाहा पाए पछि घटालको पुजा शुरु गराइन । राज पुजा भागेश्वरलाई दिईदै गरेको परम्परा बिर्सिइन । मौला रानी लाई सो पुजाका कारण निकै समस्या भयो।गर्भिणी रानी सोह्र महिना पुग्दा समेत बच्चा पैदा नहुने भयो। दुस्वप्न देख्न थालिन निकै समस्यामा परेकी रानीले दुखित भएर भागेश्वर भगवान मा भाकल गरिन । आफू बाट छोरी जन्मिए देउकी र छोरा जन्मिए पान हाल्ने पाने चढाउने धोषणा गरिन। रानीको भाकल पछि उनले सन्तान पाईन र छोरी देउकी चढाईन । भागेश्वर मन्दिर द्वारमा दीप बाली ठडद्या बासिन । सन्तानको वर मागिन र सन्तान पाइन ।
भागेश्वर र खप¥या
लंकामा राम र रावण युद्ध हुदा रावण लगायत तमाम राक्षसहरु जुन धर्म बिरोधि थिए, अत्यचारी थिए ती मारिए । तिनै अधर्मी अत्यचारी मध्येको खप¥या दानव बाच्न सफल भयो । खप¥या मार्ने जिम्मा शिवजीलाई दिएर राम अयोध्या फर्किए। खप¥या मार्ने जिम्मेवारी शिव स्वरुप भागेश्वरले पाए । खप¥या खापर क्षेत्रमा लोकप्रिय भइ पुजनिय बनेको थियो । एक समय खप¥या डागेश्वरीमा जाइ लाग्यो। डागेश्वरी जाइ लाग्दा भागेश्वरले प्रतिकार गरे तर खप¥या तलाउमा लुक्यो । विभिन्न शिवालयमा अगेवानी रहेका वरदानौको सेना गठन भयो । भागेश्वरको तर्फ बाट कालिसैन, खिटकेश्वरका कैलपाल, महादेवका पासाराया, मल्लिकार्जुनका लाटाराय, असिग्रामका मणिलेक, हरेश्वरका नौलो, केदारका नागार्जुन आदि महारथी सहिको सेना तयार गरि खप¥या मार्न जुटे । सबै संग भएका हतियारको परीक्षण गरियो । लुवानेल कालिसैन , तलवार कैलपाल ,लुवाजाल समैजी यस्तै सबै संग भएका हतियार प्रदर्सन गरिए । खप¥या दहमा लुकेको पत्ता लाग्यो । तालमा जाल छम्काई छ । खप¥या जालमा समातियो नेलले बाधे, लठ्ठीले पिटे तरवारले काटेर खप¥यालाई मारे । खप¥या मारे पछि स्नान गर्न परशुरामतीर्थ, हरिद्वार, काशी ,त्रिवेणी माधव, गया गजाधर, सरयु, नर्मदा, सिन्धु गंङ्गासागर आदि तीर्थस्नानका लागि गए।तीर्थ स्नान बाट फर्के पछि आ–आफ्नो जिम्मेवारी सम्हाले । भागेश्वरको सबै संग सानिध्यता जोडियो । भागेश्वरको क्षेत्र बिस्तार भयो।
भागेश्वर र लुहार
भागेश्वरको महिमा व्यापक छ । जो इच्छाशक्तिले धाएर जान्छन मन बान्छित फल पाउँछन्। भक्त जो सुकै भएपनि भगवानको सदा कृपा दृष्टि रहि रहन्छ । भक्त निस्काम भक्तीका प्रति भगवान अनुग्रहित हुन्छन् । धुराधाममा भागेश्वर मन्दिर अगाडि एउटा बूढो साडे मरेको रहेछ त्यही बाटो भएर एउटा सार्की गएछ । छि–छि मन्दिर अगाडि सिनो भन्दै आफ्नो बाटो लागेछ । ती सार्कि लाई तिम्रो साखा सन्तानले यो बाटो र मेरो नजिक कहिले आउन नपरोस भनी श्राप दिए । त्यही बाटो एक जना लुहार गएछन । यो कस्तो नराम्रो भएछ । कसैले देखेनछ कि । यो सिनो सफा गर्नु प¥यो भनी सिनो मन्दिर भन्दा टाढा पु¥याइ खाडलमा गाडे, मन्दिर परिसरमा सरसफाइ गरि घर फर्किए।लुहार घर पुगे पछि भगवान भागेश्वर तिनकै घरमा पुगे त्यही बाँस बसे भगवानको दर्शन अनुकम्पाले धन्य भए ।
देवसभा
परशुराम तीर्थमा समय–समयमा देवताहरुका देवसभा समते हुने गर्दथ । सशरिर देवता धेरै कम स्थानमा आउछन । देवता सशरिर आएका स्थान धेरै ठूलो तीर्थका रुपमा स्थापित हुन्छन । देवताको आगमन संगै सवै तीर्थ त्यही आउछन । परशुरामधाम तीर्थमा धेरै तीर्थ अवस्थित छन । तीर्थमा हुने देवसभाको सन्दर्भमा एक पटक शिवालय कुन कहाँ स्थापित हुने स्थानका बिषयमा देव सभामा व्यापक छलफल भयो । शिव स्वरुप विभिन्न देवता हरुको बासको निर्णय भयो । भागेश्वर धुन्धु पहाड धुरामा, खिटकेश्वर दुनिलामा , महादेव बलकाण्डेमा, असिग्राम रुपाल, जगन्नाथ चिपुरमा ,सिगाँस गडगर्खा, बैद्यनाथ अछाम, मल्लिकार्जुन लेकम,सिउनाथमा स्वरडमा, डागेश्वरी पिल्कोटमा , उग्रतारा छ गर्खा, नवदुर्गा गड पश्य,त्रिपूरासुन्दरी देमाण्डौमा ,शैलेश्वरी शिलगढीमा ,मालिका बाजुरामा बस्ने त्यही लोककल्याणनार्थ स्थापित भइ रहने निधो भयो । सोल शिवालयको सभा भएको थियो । त्यही समय देखि परशुरामतीर्थमा सोल शिवालयका देउरा आउने र देवसभा सप्पन्न हुने परम्परा रहि आएको छ । देवसभाको निरंतरता देउरा ल्याउले परम्परा हो । देउरा दर्शन, देउरा स्नान बिशिस्ट परम्पराका रुपमा रहि आएको छ। स्कन्द पुराणमा
स्कन्द पुराणको मानसखण्डमा एला नदीको निकै ठूलो चर्चा छ । एलाको उत्तर तिर रुद्रावती नदि रहेको र रुद्रावती शिवजीका पाँउ बाट उत्पन्न भएको उल्लेख छ।रुद्रावतीको पुर्व तिर भागेश्वर देव धुन्धुपर्वतमा रहेको वर्णन छ । कुर्माञ्चल क्षेत्रमा रहेका घण्टागिरी, शिवगिरी, दुन्दुगिरि, काकगिरि, गणपर्वत, धुन्धुगिरि आदि अति पवित्र पर्वत रहेका छन । पर्वतहरु देवरुपमा रहेका छ । देवरुप पर्वत शिव स्वरुप हुन।पर्वतहरु मध्ये धुन्धुपर्वतमा शिव स्वरुप भागेश्वरको निवास रहेको स्कन्द पुराणमा उल्लेख छ । पुराणमा भागेश्वर देवको योगिनी देवता, सिद्ध ,गन्धर्वहरु नित्य पुज्यपादको पुजा गर्दछन । दुग्ध वा जलधाराले रुद्राभिषेक गरि भागेश्वरको पुजा अर्चना गरेमा परमागती प्राप्त हुन्छ भनी बर्णन गरिएको छ।
भगेश्वरं महादेवं स्फटिकाभं प्रपुजयेत । १०। १३६
स्कन्दपुराणको मानसखण्ड्को १३६ अध्यायमा घण्टागिरीको उल्लेख छ ।घण्टागिरी संगै धुन्धुपर्वत रहेको र धुन्धुपर्वतमा भागेश्वरको स्फटिकको शिवलिङ्ग रहेको बर्णन गरिएको छ ।
एलाहृदसमुदभूता नित्यं नमामि रेणुकाम ।
रेणुका सुरभागा बै पर्वतोत्तम राजते।।४।।
आलिताल बाट एउटा नदी उत्पन्न भएकी छन । आलिताल बाट उत्पन्न भइ निरन्तर रेणुका प्रवाहित भएकी छन।रेणुकानदी (सुरभागा) महाकालीमा संगमित भएर पर्वतीय क्षेत्रकी उत्तम नदी भएकी छन।
रुद्रा तदुत्तरे जाता शंङ्करपादनिस्सृताः।
पूर्वे भागेश्वरो देव धुन्धुपर्वत सुब्रत।५।
एलानदीको उत्तर तिर रुद्रावती नदी रहेकी छन । रुद्रावतीनदी शिवजीका पाउ बाट उत्पन्न भएकी छन । रुद्रावतीको पुर्व तिर धुन्धुपर्वतमा (धुरापहाड) भागेश्वर भगवान निवास गर्नु हुन्छ।
देवभागं प्रदातब्यं तस्मादभागेश्वरं बिदुः।
सिद्धगन्धर्व यस्त्र स्था योगिनीदेवतागणा।६।
धुन्धुपर्वतमा भागेश्वरको देवता, सिद्ध , गन्धर्व , योगिनीहरु विधि पुर्वक पुजा अर्चना गर्दछन।
नित्येश्वरं समाराध्य पूज्यपादाभिवन्दनम।
धूपोपहारवलिभीःपूजन्ते सिद्धयोगिनी । ७।
धुप, दीप,अनेक उपहार लिएर भागेश्वर भगवानका पुज्य पाउको योगिनीहरु नित्यरुपमा पुजा अर्चना गर्दछन ।
दुग्ध वा जलधाराभीःरुद्राभिषेक कर्मणा ।
ये समर्चन्ति भागेशं ते यान्ति परमां गतिम । ८।
भागेश्वर भगवान लाई दुग्ध वा जलधाराले अभिषेक गरि अर्चना गरेमा परमगती प्राप्त हुन्छ ।
रीत परम्परा
भागेश्वर देवताको पुजन, जाँत, देउरा सम्बन्धि विभिन्न परम्परा र रीत रहेका छन । मुख्यतःबर्षमा दुई पटक पुजा लाग्छ।श्रावण शुक्ल पुर्णिामा अर्थात जनै पुर्णिामा र कार्तिक शुक्ल चतुर्दशी अर्थात बैकुण्ठ चतुर्दशीमा पुजा लगाईन्छ । रुपाली जोशीको ब्यवस्थापनमा सिराडी पुजाराले पुजा लगाउछन । भागेश्वरका बाईस मडि छन।बाईस मडि मध्ये जेठो मडि ग्वान्नी हो । बाइसै मडि बाट पुज पोखल ल्याइन्छ । ग्वान्नी , रुपाल, सिराड, डुङरी, बगरकोटबाट देउराहरु धुरा जान्छन । भागेश्वरको मुख्य भडाँर ग्वान्नी नङरमा छ । कुनै समय नङँरमा अठ सङ्या (आठ जना मिलेर उठाउन सकिने) दाइन दमाउ थियो । त्यस्तै अठ सङ्या घाँट (घण्टा) थिए।दमाउ धौलागो भन्ने ठाउँ र घाँट गुयला भन्ने ठाउमा लगेर बजाउने गरिन्थ्यो । दमाउ र घाँटको आवाज सुनिएको सातौ दिन धुरा जाँत हुने जानकारी पाइन्थ्यो । शिवालयमा द्वारपाल पासाराया लाई मानिन्छ । पासालाई सबै दानौ गुरु भनी सम्बोधन गर्दछन । पासा संगै भागेश्वर संग मुलुकिया कालिसैन र मुलुकिया कैलपालको भुमिका महत्व पुर्ण रहेको हुन्छ । भागेश्वरको सरकारमा महाराज भागेश्वर, प्रधानमन्त्री पासा , गृहमन्त्री कालिसैन, भूमि सुधार तथा ब्यवस्था कैलपाल, रक्षामन्त्रीको भूमिका समैजी लाई दिइएको हुन्छ । अबोल देवता शिलामा हुन्छन जसमा अदृश्य क्षमता हुन्छ भने बोल देवताको भुमिका वर दानौहरुको रहेको हुन्छ। शिवालय लाई साइ भन्ने गरिन्छ । दानौहरुले देउराको नेतृत्व गर्दछन । विभिन्न स्थानबाट देउरा धुरामा ल्याइन्छन । त्यस्तै सोल शिवालयका देउरा परशुरामतीर्थमा ल्याइन्छन खली, छली, पञ्जनी, जागरमा पनि दानौको भूमिका पनि महत्वपुर्ण रहेकोे हुन्छ । दानौको पहिचान नीर तथा शिरमा हुने गर्छ । नीर अर्थात परशुरामतीर्थ र शिर अर्थात भागेश्वर धुरा भन्ने बुझिन्छ ।
संस्कृत शब्द भगको अर्थ स्वामी, संरक्षक भए पनि यस शब्दको प्रयोग भाग्य, धन तथा समृद्धि दर्साउन गरिन्छ। भग संग ईश्वर जोडिएर भगेश्वर,भाग्य संग ईश्वर जोडिएर भागेश्वर बन्न गएको मान्यता छ । ऋकवेदमा भगलाई आठ आदित्य मध्ये एउटा आदित्य मानिएको छ । धन,समृद्धि ,भाग्य का ईश्वर भागेश्वरको महिमा व्यापक छ । तीर्थमा ठूलो परशुरामलाई मानिन्छ भने देवतामा ठूलो भागेश्वरलाइ मानिन्छ । हालको सुदुर पश्चिम भरी भगेश्वरलाई निकै शक्तिशाली आराध्य,पुज्यदेव का रुपमा मन्दछन।
(पंतिकार समाजशास्त्री हुन)

bb

Leave A Reply

Your email address will not be published.