रङुन महिमा

कैलासकुमार पाण्डेय

डेल्धुरा जिल्लामा धेरै नदी नाला बग्दछन । हिमालय बाट उत्पन्न भएकी महाकाली लगायतका नदीहरु छन । घण्टापर्वत र शिवपर्वतको मध्यभाग भएर भित्रीमधेसमा बग्ने प्रमुख नदी हो रङुन । रङुनलाई रंगुन,उनरुवा, एला, रेणुका , रङ्गुन आदि नामले चिनिन्छ । रह र उन शब्द बाट बनेको भन्ने मान्यता छ । रह भनेको ताल, दह र उन बगेको भन्नाले तलतिर बगेको अर्थात तालको पानी तलतिर बगेको भन्ने हुन जान्छ । आलितालको पानी बगेर रंङुन नदी बनेको छ । पुराणमा आलिताललाई एलाहृद भनिए को छ । एलाहृदबाट नदी उत्पन्न भएको स्कन्द पुराणको मानसखण्डमा उल्लेख गरिएको छ।
एलाहृद समुद्भुतां नित्यं नमामी रेणुकांम ।


डडेल्धुरा जिल्ला मै पर्ने आलितालबाट उत्पन्न भएर रेणुका निरन्तर प्रवाहित भएकी छन । एलाको मुल अर्थात आलितालमा महातीर्थ अवस्थित छ । जहाँ भगवान बिष्णुको कूर्म अवतार भएको पुराणमा उल्लेख छ । कूर्म अवतार भएको एलाहृद बाट कूर्माञ्चल शुरु हुन्छ । महातीर्थ उत्तर पश्चिम तिर कूर्म पर्वत दसयोजन फैलिएको पुराणमा उल्लेख गरिएको छ । एलाहृद मा (आलिताल) कूर्म अवतार विष्णु भगवानका पाउ बाट उत्पन्न भएकी अति पबित्र नदी रेणुका ÷ रंगुन भएकी छन । एलाको जलको मध्य भागमा भगवान शिव (एलेस) रहेकोे पनि पुराणमा उल्लेख छ।अति नै पबित्र रङुन नदी आलितालबाट शुरु हुदाँ सुवेला (सुन खोला) संग संगमित भएको र त्यहा सुवेलातीर्थ रहेकोे छ । एला को अर्को संगम पुतना संगम हो । पुन्तुरा नामले जानिने नदी रंगुनमा मिलन हुने स्थानलाई पुतना संगमले समेत चिनिन्छ । पुतना संगममा एलातीर्थ रहेको पुराण बर्णन गरिएको छ । एलातीर्थको उत्तर तिर सिद्धसर (सिरस÷शिर्ष) रहेकोे उल्लेख छ । एलातीर्थ पछिको रंगुनको अति महत्वपूर्ण संगम श्यामा (महाकाली) संगम हो । एला र श्यामाको संगममा परशुरामतीर्थ रहेको छ ।
एलायाससंगम् पुण्यम जामदग्न्याश्रमं शुभम ।


अति नै पबित्र नदि रंगुन/रेणुका महाकालीमा संगमित भएपछि लोकबिख्याता नदीको प्रसस्ती पाएको र तिन लोकमा चर्चा रहेकोे छ । रंगुन÷रेणुका भगवान परशुरामकि माता हुन भगवान परशुराम अद्यपी रहेकै स्थानमा माता रेणुका नित्य निरन्तर प्रवाहित रहेकी छन ।
पुराणहरुमा रेणुका माताको निकै चर्चा छ । भगवान बिष्णु को छैटौ अवतार परशुराम कि माता भएकाले तथा सप्तऋषि मध्येका जमदग्निकी पत्नी रेणुकाको विभिन्न प्रकार वाट वर्णन गरिएको छ । ऋषि जमदग्नि र रेणुकाका रुमण्वान, सुषेण, वसु, विश्वावसु र परशुराम पाच पुत्र थिए । पाचौ रेणुका नन्दन भगवान बिष्णु अवतार परशुराम थिए ।
जमदग्नि आश्रममा कामधेनु गाई रहेकी थिईन । एक समय राजा सहस्रार्जुन जमदग्नि आश्रममा आई पुगे । राजालाई राजोचित सम्मानका साथ स्वागत सत्कार गरीयो । जमदग्नि ऋषिको स्वागत वाट राजा सहस्रार्जुन खुसी त भए तर ऋषिलाई स्वागतका बिषयमा सोधे । योगवलले हो या अरु कुनै कारणवाट हो चमत्कार भनी राजाले सोधे । जमदग्नि ऋषिले कामधेनुको प्रतापले राजोचित स्वागत गरेको बताए पछि राजाले कामधेनु आफ्ुलाई दिन अनुरोध गरे । जमदग्नि ऋषिले कामधेनु दिन नमाने पछि राजाले कामधेनु हरण गरेर लगे कामधेनु हरणको खवर परशुरामले पाए पछि महिसमती नगरमा गई राजा सहस्रार्जनको हत्या गरी गाई फर्काई ल्याए । सहस्रार्जुनका छोराहरु वदला लिने दाउमा थिए । परशुराम जमदग्नि आश्रममा न भएको मौकाछोपी अश्रममा आक्रमण गरे । राजकुमार र सेनाको आक्रमणवाट जमदग्निको हत्या भयो । कामधेनु गाई राजकुमारहरुले हरण गरेर लगे । ऋषिको हत्या र कामधेनु गाई हरण हुदाँ माता रेणुकाले एक्काईस पटक छातीमा मुट्कीले हानी चिच्याएको परशुरामले सुने । मामाको चिच्याहट सुनी जमदग्नि आश्रममा परशुराम पुगे । पिताको हत्या भएको र कामधेनु गाई हरण भएको खवरले क्रोधित भई माताको एक्काईस पटकको चिच्याहटलाई प्रतिज्ञा मानी पृथ्वीलाई क्षेत्रीय विहीन वनाउने प्रतिज्ञा गरे । आतताई क्षेत्रीयहरुको एककाईस पटक संहार गरे पृथ्वी क्षेत्रीय विहीन पारी नियन्त्रणमा लिई कश्यप ऋषिलाई दान दिए । आतताई क्षेत्रीय हरुको एक्काईस पटक अन्त गरि एला संगममा स्नान गरि आफ्नो बञ्चरोको धारको तेजकम गर्न एउटा ढुङ्गो काटेका थिए ढुङ्गोमा तीन हात लम्बाई तीन हात चौडाई तीन हात गहिराईको कुण्ड निर्माण भयो । उक्त कुण्डमा भगवान बिश्वकर्माले दसअंगुल परिमितको बिष्णु प्रतिमा (परशुराम) निर्माण गरि स्थापित गरि दिए त्यही कुण्ड परशुराम कुण्डका रुपमा रहेको छ । रंङुन र महाकालीको संगममा परशुरामकुण्ड रहेको छ ।
घण्टापर्वत भनेर घण्टेश्वरको धुरो रहेकोे पहाड र शिवपर्वत भनेर चुरे उत्तरतर्फ रहेकोे चुरे शिवालिक लाई बुझिन्छ । यी दुई पहाडका बीचमा बग्ने नदी अति नै पबित्र रहेकी भनेर स्कन्द पुराणको मानसखण्डमा उल्लेख गरिएको छ ।
घण्टाशिवाद्री मध्यस्त शिवदुतेन पुजित ।
नदी सिद्ध गणै पुण्या सेबितासुमनोहरा ।।
घण्टागिरी,शिवगिरी ,धुन्धुगिरीवाट उत्पन्न हुने सबै नदीको पानी रंगुन भएर महाकालीमा समाहित हुन जान्छन।यो क्षेत्रको तीन योजन भु–भाग कूर्माञ्चल क्षेत्रमा पर्दछ । कूर्मपर्वतमा भगवान विष्णुका पाउँको चिन्ह अंकित भएको छ । त्यस्तै यसै क्षेत्रमा भगवान बिष्णुको छैटौं अवतार भएको परशुरामतीर्थ अवस्थित छ । कूर्मशिला,रामशिला यसै क्षेत्रमा रहेका छन भने शिव स्वरुप विभिन्न शिवालय पनि रहेका छ । भागेश्वर, खिटकेश्वर, असिग्राम , बैजनाथ, सिद्धनाथ, स्यालचौडी जस्ता शिवालय र समैजी ,कालिसैन,कैलपाल, लाटा,गोरिल, नौलो, कलपठ्या, लगायत विभिन्न देवी देवता रहेका छन । झण्डै चालीस किलोमीटर लाम्बाई रहेको रंगुन नदीको क्षेत्रमा तमाम बस्तीहरु रहेका छन । ठुला–ठुला फाट रंगुन कै पानीले सिञ्चित भएका छन।रंगुन उपत्यका प्रकृतिको अनुपम छटा छन्नता बोकेको छ।यतै ऋषिहरु जमदग्नि ,भृगु, कपिल आदिका आश्रम रहेका छन । बाह्र माला बाह्र कोला चौबीस देवता का थान छन । अगहनमा (मंसिर) तराई जाने मुल बाटो रंगुन तरे मात्रै पार गरिन्छ ।
कुरुक्षेत्रको युद्ध समाप्त भएपछि एक रात भीमसेनलाई युद्धमा दिबंगत भएका छोरा घटोत्कच सपनामा भेटन आउछन । पिता संगआफू निकै संकटमा रहेको सुनाए पछि।भीम निकै दुखित भए । भाई दुखित भएको बिषय मा राजा युधिष्टिरले सोधे पछि भीमले सबै वृतान्त बताए।कुरुक्षेत्रको युद्ध हुदाँ पाण्डवको पक्ष अर्थात सत्यको पक्षमा लडि दिवंगत भएका दानौं हरुलाई कलियुगमा शिवालयका अगेवानी भई ग्रामदेवता, स्थानदेवता, कुलदेवताका रूपमा पुज्य हुने वर पाएका थिए।तिनै वर पाएका दानव मध्येका एक हुन घटोत्कच । घटोत्कचका लागि तोकिएको स्थान जलमग्न थियो ।
लंका युद्धमा मारिएका कुम्भकर्णको टाउकोले नदी थुनिएर जलाशय भएको थियो।जलमग्न भएकाले बासको घटोत्कच र माता हिडम्वालाई समस्या भएको थियोे । घटोत्कचको बाँस देव नदीको तटमा रहेको थियोे । तर माता हिडंम्वा र अन्य दानवगण जलाशय संगै थिए । माता संगै रहने ईच्छा जनाएको भीमलाई जानकारी भयो।भीमसेन हिडम्बा र घटोत्कचलाइ भेट गर्न पाण्डवी (पण्डौन) बनमा रहेकी पाण्डवी नदी किनारमा भाईहरु संग बिदा भएर कूर्माञ्चल तिर लागे । फलपर्वतकोबाटो भइ आउदै गर्दा बाटामा तत्वज्ञानी सिद्धपुरुष भेटिए । तिनै सिद्धपुरुषले यस क्षेत्रका तीर्थ तथा देवस्थलका बिषयमा बताएका थिए । भीम र सिद्ध पुरुष सुवेलातीर्थमा पुगे । तीर्थको महत्व बताए पछि बिधि पुर्वक स्नान,तर्पण गर्न लगाए । त्यसपछि एलाहृदमा (आलिताल) स्नान गराई कूर्मपादको दर्शन गराए । पुतना र एलाको संगममा रहेको एलातीर्थमा विधि पुर्वक स्नान तर्पण गराए । त्यही एलेस तथा पत्रेसको दर्शन गराए । सिद्धसरमा स्नान गरेर परशुरामतीर्थमा वास वस्न पुगे । एला र श्यामाको संगममा रहेको परशुराम तीर्थमा विधिपुर्वक स्नान तर्पण गरि परशुरामकुण्डको दर्सन, जामदग्न्येसको दर्शन, सत्ययुग देखिका अक्षय बट वर र पिपलको दर्शन गरेर गण्डकी नदी तिर गए । कुम्भकर्ण को गण्डस्थले नदी थुनिएर जलाशय भएको थियोे ।
भीमले लोहदण्ड प्रयोग गरि जलाशय फुटाएर जलाशय खाली गरीयो । लोहदण्डले निकालिएकी नदी लोहवती कहलाईन । जलमा छोपिएको वागेश्वरको दर्शन गरे । त्यहि हिडम्वा र घटोत्कचको बासको प्रवन्ध मिलाए । हिडम्बा र घटोत्कचको पुजाको ब्यवस्था भयो । दानवको उचित सम्मान भएको सम्पूर्ण दानवहरु खुशी भए।जुन कुरुक्षेत्रको युद्धमा वर पाएका थिए सो पूरा भयो । आज पनि शिवालय संगै वर दानौको पुजा गरिन्छ । कूर्म क्षेत्र, मानसखण्डका दानौको पञ्जनी कि शीर कि नीर हुने गर्दछ । शिर अर्थात शिवालय रहेका शिखर र नीर अर्थात एला श्यामा संगम रहेको परशुरामतीर्थलाई मानिन्छ । परशुराम तीर्थमा लाग्ने हरेक मेलामा सोल शिवालयका देउरा ल्याइन्छन । देउरामा ल्याइने गाजलाइ चल मन्दिर मानिन्छ । गाज संगै देउताका सबै सामग्री स्नानका लागि ल्याइन्छ्न।देउराको नेतृत्व द्वारपाल पासाराया तथा अन्य अगेवानी गर्ने दानौले गर्दछ्न । शिवालय मध्ये कर्मका आधारमा भगेश्वरलाई ठूलो भुमिकामा राखीएको छ । बाईस देउराको परशुरामतीर्थमा छुट्टाछुट्टै बस्ने ठाउँ छ्न । बाईस फाट कुमाउ, सालसय डोटी ,सोलसय सोराड,नौंसय गड, सत्रसय छामी अछामी, आठ सय लेकम, बाह्रहजार मालमधेसको मेला भर्ने तीर्थ परशुराम हो । परशुरामतीर्थ स्नान पछि एला,पुतना स्नानको निकै महत्व रहेको छ । माघ महिनामा गंगा यमुनाको संगममा स्नान गरे जति पुण्य पुतना र एलाको संगममा स्नानले पाईन्छ । त्यस्तै गंङ्गा स्नानको भन्दा दसगुणा बढी पुण्य एला श्यामा संगम परशुरामतीर्थ स्नानले पाईन्छ भनी स्कन्द पुराणमा उल्लेख गरिएको छ । यति ठूलो पबित्रता बोकेको रंगुन नदीको महिमा व्यापक छ ।
एक समयको कुरा हो गन्धर्वराज चित्ररथ रानीहरुका साथ महाकाली नदीमा स्नान गरि रहेका थिए । माता रेणुका पनि यज्ञ का लागि जल ल्याउन जादा स्नान क्रीडा देखे त्यति बेला ऋषि जमदग्निले दिब्य दृष्टीले हेर्दा रेणुका चित्ररथको स्नान क्रीडा हेरिरहेको देखे । ऋषि क्रोधले आगो भए । ऋषिले रेणुका जमदग्नि आश्रममा पुग्दा छोराहरूलाई रेणुकाको टाउको काटने आदेश दिए । ऋषिले छोराहरु रुमण्वान, सुषेण, वसु, विश्वावसुलाई शिर काटने आज्ञा दिदा कसैले पालना गरेनन । कसैले आज्ञा पालन नगरे पछि परशुरामले पिताको आज्ञालाई शिरोपर गरि शिर काट्न तयार भए । माता रेणुका र दाजुहरुको शिर काटिदिए । आज्ञा पालन गरेकोमा ऋषि खुशी भई परशुरामलाई वर माग्न भने । चतुर परशुरामले शिर काटिए का माता र दाजुहरु जिवित होउन र शिर काटिएको अनुभुति समेत नहोस भनी वर मागे । परशुरामले वर मागे अनुसार ऋषिले तथास्तु भने । तथास्तुको शब्द संगै रेणु (वालुवा) कण उडे जस्तै गरि, एला जल को ठुलो गर्जन सहित सबैले पुनर्जीवन पाए । एला जलमा माताको स्वरुप देखे।रेणुकण, रेणुका आत्मा रहेकि निरन्तर–निरन्तर प्रवाहित नदी रेणुका भइन । अष्ट चिरञ्जीवी अश्व्स्थामा, बलि, ब्यास, हनुमान, बिभिषण, मार्कण्डेय, कृपाचार्य जस्तै परशुराम अद्यपी परशुरामतीर्थमा बिचरण गरिरहेका हुन्छ्न । त्यही माता रेणुका संग मिलन हुन्छ भन्ने मन्यता छ । चिरञ्जीवी परशुराम अद्यपी परशुराम तीर्थमा नै तपस्यारत रहेका र माता रेणुका यतै नित्य प्रवाहित रहेकी छन । परशुरामतीर्थ संगै रेणुकाको थान (मन्दिर) रहेको छ । माता रणुकाको बिधि पुर्वक पुजा गरिन्छ । स्कन्द पुराणको केदारखण्डमा महापन्थपीठ, विश्वामित्रेश्वर महादेव, र रेणुका माताको उल्लेख छ । रंगुन उपत्यका भगवान शिव र बिष्णुको क्रीडास्थलका रुपमा मानिन्छ । देवाता स शरिर अवतरण भएको क्षेत्र हो यो । ‘ सर्वाणी तीर्थाणी वसन्ती तत्र ’ भने झै देवताको आगमन संगै सवै तीर्थ त्यही आउछ्न भन्ने मान्यता छ ।
रेणुका स्नानको पनि निकै ठूलो महत्व छ । जमदग्नि आश्रम भएर बगेकाले जान्हवी तुल्य मानेको छ।कलि युगका सम्पूर्ण दोस रेणुका स्नान वाट निवारण हुन्छन भन्ने पुराणमा बर्णन गरिएको छ । रंगुन किनारमा परशुराम ऋषिले देवब्रत(पितामह भीष्म), द्रोणाचार्य, महारथी कर्णलाई धनुर्विद्या सिकाएको महाभारतमा र पुराणमा बर्णन छ । प्राकृतिक रुपले पनि बस्ती बिच भाग भएर नदी बगेकाले सुन्दरता थपेको छ, भने उर्वरभुमि सिञ्चित गरेको छ । वातावरण स्वच्छ पारेको छ । सभ्यता संगै नदि जोडिएका हुन्छन । रंगुन सभ्यता संग यहाँको हजारौं–हजार जनघनत्वको जोडिएको छ । रंगुन सभ्यता संगै यो उपत्यकाको छुट्टै पहिचान वनेको छ । यहाँ परशुरामतीर्थ रहेको छ । परशुराम तीर्थ वरावर तीनलोक मा अर्को तीर्थ नै छैन जहाँ स्नान गर्दा सय कुल सम्म बैकुण्ठ पुग्दछन भनी पुराणहरुमा बर्णन गरिएको छ । यो तीर्थ रंगुन उपत्यकाको सान मान गौरव हो । संगै मनोरम आलिताल छ । आलितालको को पनि बिशिष्ट महिमा छ । निकै महत्व वोकेको रंगुन नदीको महिमा व्यापक छ र निकै पबित्र छ ।
(पंतिकार संस्कृतिविद हुन)

bb

Leave A Reply

Your email address will not be published.