डडेल्धुरा : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराका स्थानीय तहका लागि राहत सामग्री पठाएका छन्। स्थानीय तहमा रहेका गरिब निमुखाका लागि खाद्यान्न अभाव भएको भन्दै १ सय ४० क्विन्टल चामलसहितको खाद्यन्न राहत स्वरुप पठाएका हुन्।
पूर्वप्रधानमन्त्री देउवाले जिल्लाका प्रत्येक स्थानीय तहलाई २० क्विन्टल चामलसहित दुई सय केजी दाल, पाँच पेटी तेल, २८ किलो नुनका साथै चिनी, चियापत्ती, चनाजस्ता खाद्य सामग्री पठाएको जिल्ला समन्वय समिति डडेल्धुराले जनाएको छ ।
राहात वितरण गर्नुपर्ने समय अब आइरहेको र कतिपय स्थानीयतहका सर्वसाधारणलाई खाद्य सामग्री आवश्यक परिरहँदा पूर्वप्रधानमन्त्री देउवाले पठाएको राहतले ठूलो टेवा पुग्ने जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टले बताए।
उनका अनुसार देउवा उक्त खाद्य, सामग्री भारत तथा बाह्य मुलुकबाट जिल्ला पुगेर क्वारेन्टाइनमा बसेका र लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरी खानेहरुलाई वितरण गर्ने गरी सहयोग गरेको हुन्।
सभापति देउवाले जिल्ला समन्वयमार्फत स्थानीय पालिकालाई हस्तान्तरण गर्ने गरी राहत पठाएका हुन्। शुक्रबार नै अनौपचारिक कार्यक्रम गरि जिल्लाका सातवटै स्थानीय प्रमुख तथा प्रतिनिधिलाई बोलाएर उक्त सामाग्री हस्तान्तरण गरिएको छ। उक्त सामग्री स्थानीय तहले आवश्यताका आधारमा सर्वसधारणलाई वितरण गर्ने जनाएका छन्।
खाद्य सामग्री खाना नपाएर भोकै रहेका, दलित, महिला, मजदुर, किसान, एकल महिला, मुक्त हलिया, अपागंता भएका मानिस, ज्येष्ठ नागरिक र पीडामा परेका सर्वसाधारणलाई वितरण गर्ने गरी स्थानीयतहलाई हस्तान्तरण गरिएको जिल्ला समन्वय समितिका समन्वय अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।
सबै स्थानीयतहलाई कोरोना माहामारी बढीरहेका बेला राहतको आवश्यक्ता अनुसार दोस्रो चरणमा पनि पठाउने गरी अहिलेका लागि आएको खाद्यान्न वितरणमा सहयोग गर्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई उनले आग्रह गरेका छन्।
