परशुराम नगरपालिकाका नगर प्रमुख साउँदको पहलमा भारतमा अलपत्र ३० जनाको उद्धार
डडेल्धुरामा ४९ जनाको नमुना संकलन, परशुराम नगरपालिकामा आवतजावत पुर्ण बन्देज
डडेल्धुरा ः लामो समय देखि भारतको टनकपुरमा अलपत्र परेका परशुराम नगरपालिको २६ जना र आलिताल गाउँपालिकाका ४ जनालाई आज उद्धार गरी परशुराम नगरपालिकाको त्रिबेणी क्वारेन्टिनमा राखिएको छ । सरकारले भारतीय सिमा नाका बन्द गरेपछि भारतीय सहरका बिभिन्न क्वारेन्टिनमा बस्दै आएका उनीहरुलाई भारतीय सरकारले लामो सयमा क्वारेन्टिनमा राख्न नसकिने भन्दै अलपत्र परेपछि आफुले उद्धार गरेर क्वारेन्टिनमा राखिएको नगरप्रमुख भिमबहादुर साउँदले बताउनु भयो ।
भारत सरकारले लामो क्वारेन्टिनमा राखेर पाल्न नसकिने भन्दै धमाधाम नेपालीहरुलाई क्वारेन्टिन बाहिर निकाल्न थालेपछि दैनिक हजारौंको संख्यामा नेपालीहरु अलपत्र पर्ने थालेको नगर प्रमुख साउँदले बताउनु भयो ।
सोमबार पनि परशुराम नगरपालिकाले भारतमा अलपत्र परेका ९ नेपालीको उद्धार गरेको थियो । उद्धार गरिएका सबैलाई त्रिबेणी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टिनमा राखिएको छ ।
लकडाउनका कारण भारतको वनवासा क्वारेन्टाइनबाट निकालिएका परशुराम नगरपालिकाका पाँच र आलिताल गाउँपालिकाका ४ जना गरी ९ जनाको नगरपालिकाले उद्धार गरेको हो । वनवासास्थित सारदा इन्टरमिडियट कलेजको क्वारेन्टाइनमा विगत ४३ दिनदेखि कष्टपूर्णरूपमा बस्दै आएका उनीहरू उद्धार गरिएको नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले जानकारी दिए । उनीहरूलाई नगरपालिकाको एम्बुलेन्समार्फत सोमबार राति जोगबुढा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले बताए ।
हालसम्म विभिन्न बाह्य मुलक तथा भारत र देशै अन्य क्षेत्रबाट आएका ३४ जना त्रिवेणी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत पनेरुले जानकारी दिए। मंगलबार पनि नगरपालिकाको एम्बुलेन्स र टिपर आफ्ना नागरिकको उद्धारका लागि महेन्द्रनगर गएको उनले बताए।
डडेल्धुरामा ४९ जनाको नमुना संकलन
मंगलबार डडेल्धुरामा पिसिआर प्रविधिबाट कोरोना भाइरस परीक्षणका लागि ४९ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । भारतलगायत अर्को मुलुकबाट आएर जिल्लाको अमरगढी नगरपालिका, परशुराम र आलिताल गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेकोहरुको मंगलबार नमुना संकलन गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
परशुरामका ३५ जना, अमरगढी नगरपालिकका २ र आलितालका १२ जना गरी जम्मा ४९ जना संकलन गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए। उनका अनुसार संकलित थ्रोट स्वाबको नमुना परीक्षणका लागि धनगढी पठाइएको छ।
डडेल्धुरा सदरमुकाममा रहेको नेपाल प्रहरीका १० र सशस्त्र प्रहरीका १० गरी २० जनाको आरडिटी परीक्षण गरिएको छ। साथै अमरगढीका ७ स्थानीयको पनि आरडिटी परीक्षण गरिएको छ। उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका भेक्टरकन्ट्रोलर सुपरभाइजर तथा कोभिड १९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए ।
परशुराम नगरपालिकामा आवतजावत पुर्ण बन्देज
परशुराम नगरपालिकाले मंगलबारदेखि नगर क्षेत्रमा पुर्ण बन्देज लगाएको छ । मंगलबार साझ नगरपालिकाले नगरक्षेत्रमा कोरोना संक्रमणको जोखिम उच्च भएका भन्दै आवातजावत पुर्ण बन्देज लगाउनु परेको नगर प्रमुख साउँदले बताउनु भयो ।
