गाउँघर संवाददाता, डडेल्धुरा

कोरोना भाइरसको संक्रमण बढिरहेका बेला भारतसँग सिमानाजोडिएका विभिन्न नाकाबाट नेपाल भित्रिनेको संख्या अझै रोकिन नसक्दा सुदुरपश्चिममा निकै जोखिम बढेको छ । दैनिक जसो डडेल्धुरा र बैतडीका बिभिन्न सीमा क्षेत्रबाट सयौंको संख्यामा भारतबाट नेपाल आइरहेकाले झन् जोखिम बढेको हो ।
शनिबार राति बैतडीको शिवनाथ गाउँपालिका क्षेत्रबाट ५० जनाले महाकाली नदी तरे । महाकाली तरेरका मध्ये २० जना परशुराम नगरपालिकाका बासिन्दा हुन् । आजभोलि दैनिक जसो महाकाली नदीबाट ट्यूब र काठको साहरामा सयौं ब्यक्ति नेपाल छिर्नथालेका छन् । दार्चुलादेखि कञ्चनपुरसम्मका विभिन्न नाकाबन्द रहे पनि विभिन्न चोरबाटो भएर दैनिक रुपमा नेपाल भित्रिनेको संख्या बढ्दो छ । डडेल्धुरा, बैतडी र दार्चुलामा भारतसँग सिमाना जोडिएका क्षेत्रबाट रातिको समयमानेपाल भित्रिनेको संख्याठुलो छ । नेपाल आएकाहरु क्वारेन्टिनमा नबसी लुकेर घरमा बस्नेगरेका छन् । जसका कारण जोखिम झन् बढ्छ । भारतीय प्रहरीले महाकाली तर्ने नेपालीलाई सहजता गरिदिएकाले पनि यस्तो समस्या आएको परशुराम नगरपालिका नगर प्रमुख भिमबहादुर साउँदले बताउनु भयो ।

डडेल्धुरा र बैतडीको सिमानाबाट नेपाल भित्रिनेमा डडेल्धुराका वासिन्दा मात्र नभई कैलाली लगायत कर्णाली प्रदेशका विभिन्न जिल्लाका छन् । बैतडीको सीमा क्षेत्रबाट दैनिक नेपाल आउन थालेपछि सशस्त्र प्रहरी र जनपद प्रहरीलाई आइतबार बिहानदेखि नाका नाकामा परिचालन गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।
दैनिकजसो अबैध नाकाबाट लुकिछिपि नेपाल आउँने क्रम नरोकिएकाले सुदुरपश्चिममा झन् जोखिम बढ्ने देखिन्छ ।
सिमा सशस्त्र प्रहरी परिचालन
भारतबाट चोरीछिपी दैनिक ठुलो संख्यामा महाकाली तर्न थालेपछि आईतबार देखि सिमा शसस्त्र प्रहरी परिचालन गरि उच्च सतकर्ता अपनाउन थालिएको छ ।
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका विभिन्न नाकाहरू थप सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । कोरोना भाइरसका बिरामी बढेसँगै डडेल्धुराका सीमावर्ती क्षेत्रका थप ३ वटा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बल खटिएका छन् । परशुराम नगरपालिकाको तातापानी, शीर्ष र असुरानी क्षेत्रमा सशस्त्र प्रहरी बल खटिएको हो।
सशस्त्र प्रहरी नायब निरीक्षक दलबहादुर कुँवरको नेतृत्वमा ३० जनाको टोली खटाइएको डडेल्धुराका सशस्त्र प्रहरी नायब उपरीक्षक भुवनराज पन्तले बताउनु भयो । उनका अनुसार ससाना नाका र चोरबाटो हुँदै भारतमा रहेका नेपालीहरू नेपाल प्रवेश गर्न सक्ने भन्दै तीनवटा साना नाकामा सशस्त्र प्रहरी बल खटाइएको हो।
